
बिर्तामोड, ७ असोज । झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) संक्रमण बढिरहेका बेला बिर्तामोड नगरपालिकामा ६० हजारभन्दा बढी नागरिकलाई जेईविरुद्धको खोप लगाइने भएको छ।
नगरपालिकाले असोज ९ देखि १५ गतेसम्म १० वटै वडामा ३० वर्षमाथिका नागरिकलाई लक्षित गरी खोप अभियान सञ्चालन गर्न लागेको हो।
अभियानका लागि नगरपालिकाले ५६ वटा खोप केन्द्र निर्धारण गरी ३० जना स्वास्थ्यकर्मी परिचालन गरेको जनस्वास्थ्य निरीक्षक तथा अभियानका फोकल पर्सन गणेश रिजालले जानकारी दिनुभयो। उहाँका अनुसार खोप अभियानलाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मी, शिक्षक तथा स्वयंसेवकसँगै नगरस्तरीय खोप समन्वय समिति र वडास्तरीय समितिका लागि अभिमुखीकरण सम्पन्न गरिएको छ।
नगर प्रमुख पवित्रा महतारा प्रसाईले अभियान अवधिमा आफूलाई पायक पर्ने खोप केन्द्रमा पुगेर खोप लगाउन नगरवासीलाई आग्रह गर्नुभएको छ।
स्वास्थ्य कार्यालय झापाका अनुसार जिल्लामा हालसम्म १३ जनामा जेई संक्रमण पुष्टि भएको छ। तीमध्ये बिर्तामोडका एक जनासहित सात जनाको मृत्यु भइसकेको छ। संक्रमणको जोखिमलाई ध्यानमा राख्दै जिल्लाका विभिन्न स्थानीय तहमा लक्षित उमेर समूहलाई खोप लगाउने अभियान सञ्चालन भइरहेको हो।
स्वास्थ्य कार्यालय झापाका प्रमुख बृजकुमार दासका अनुसार गर्भवती महिला तथा खोपमा एलर्जीको समस्या भएका व्यक्तिले जेईविरुद्धको खोप लगाउनु हुँदैन। यस्तो अवस्था भएका व्यक्तिले खोप लगाउनुअघि स्वास्थ्यकर्मीसँग आवश्यक परामर्श लिनुपर्ने उहाँले बताउनुभयो।
झापाका विभिन्न पालिकामा जेईविरुद्धको खोप अभियान असोज ५ गतेदेखि नै सुरु भएको छ। जिल्लाका १३१ वडामा ९०० खोप केन्द्र स्थापना गरी निःशुल्क खोप सेवा सञ्चालन भइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ।


