झापा, ४ मंसिर । कात्तिक शुक्लपक्षको हरिबोधनी एकादशी आज धार्मिक विधिपूर्वक मनाइँदैछ । यसलाई प्रबोधिनी एकादशी, देवउठनी एकादशी वा ठूली एकादशीका नामले पनि चिनिन्छ ।
यस अवसरमा घरआँगनमा रोपिएको तुलसीको विशेष पूजा गरी विवाह गराउने परम्परा छ । तुलसीको मठलाई गोबर र माटोले लिपपोत गरी फूलमाला तथा विभिन्न रङका वस्त्रले सिँगारेर भगवान् विष्णुको प्रतीकका रूपमा लिङ्गो गाडी पूजा गर्ने चलन छ ।

धार्मिक मान्यताअनुसार आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन योगनिद्रामा जानुभएका भगवान् विष्णु आजकै दिन जाग्ने विश्वास गरिन्छ । त्यसैले यस दिनलाई देवउठनी एकादशी पनि भनिएको हो ।
भगवान् विष्णु योगनिद्रामा रहनुभएको चार महिनाको अवधिलाई चतुर्मास भनिन्छ । यस अवधिमा विवाह, व्रतबन्ध, गृहप्रवेशलगायतका माङ्गलिक कार्य नगर्ने परम्परा छ । हरिबोधनी एकादशीसँगै चतुर्मास समाप्त हुने भएकाले आजदेखि विवाहलगायत शुभकार्य पुनः सुरु हुने धार्मिक विश्वास छ ।
चार महिनाअघि हरिशयनी एकादशीका दिन रोपिएको तुलसीलाई आज विशेष रूपमा सिँगारेर भगवान् विष्णुको अर्को प्रतीक पीपलसँग विवाह गरिदिने चलनसमेत छ । यस दिन व्रतालुले उपवास बसी फलाहारका रूपमा पिँडालु र सक्खरखण्ड खाने गर्दछन् ।
यस एकादशीमा व्रत बस्दा हजार अश्वमेध र सय राजसूय यज्ञ गरेबराबरको पुण्य प्राप्त हुने धार्मिक मान्यता छ । व्रत, जप, तप, स्नान र दान गर्नाले पाप नाश भई पुण्य प्राप्त हुने विश्वास गरिन्छ ।
हरिबोधनी एकादशीका दिन दिवङ्गत पितृको सम्झनामा नदी तथा खोलामा फूल तार्ने परम्परा पनि छ । यसरी व्रतको पुण्य पितृलाई समर्पण गर्दा पितृ प्रसन्न भई परिवारमा सुख, शान्ति र समृद्धिको आशीर्वाद प्राप्त हुने धार्मिक विश्वास रहेको छ ।
यस दिन भगवान् विष्णुको षोडशोपचार विधिबाट पूजा गरी फलफूल तथा नैवेद्य अर्पण गर्ने र रातभरि जाग्राम बसी हरिनाम सङ्कीर्तन गर्ने चलनसमेत रहेको छ ।



