झापा, ३ मंसिर । ‘देश हेर्न, देश चिनाउन’ भन्ने नारासहित झापाको बुद्धशान्ति गाउँपालिका–१ का दुर्गाप्रसाद खतिवडा मेची–महाकाली पैदल यात्रामा निस्किएका छन्।
खतिवडालाई बुधबारे जेसीजले बुधबार मेची पुलमा औपचारिक कार्यक्रम आयोजना गरी बिदाइ गरेको हो।

बुधबारे जेसीजका अध्यक्ष जेसी कुशल अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा बुद्धशान्ति गाउँपालिका–१ का वडाध्यक्ष अनिल वाग्ले प्रमुख अतिथि थिए।
कार्यक्रममा मेचीनगर लेडी जेसीज वर्ष २०२६ की अध्यक्ष रिता श्रेष्ठ, पत्रकार मुक्ति पौडेल, न्यू स्टार क्लबका अध्यक्ष एकराज भुजेल, समाजसेवी कृष्ण घिमिरे, काँकरभिट्टा इलाका प्रहरी कार्यालयका सहायक प्रमुख रविन राई तथा बुधबारे जेसीजका गजुहाङ योङहाङलगायतको आतिथ्यता थियो।
आँखाको ज्योति गुमाएका कारण आफ्ना बुवाले संसार आफूले चाहेअनुसार हेर्न नपाएको अनुभवले पैदल यात्रामा निस्कने प्रेरणा मिलेको खतिवडाले बताए। बुवाको जीवनका अनुभव, संघर्ष र भोगाइलाई समाजसामु सुनाउने तथा देशका विभिन्न ठाउँको अवलोकन गरी देश चिनाउने उद्देश्यले यात्रा सुरु गरेको उनको भनाइ छ।
‘म देश हेर्ने र देश चिनाउने अठोटका साथ पैदल यात्रामा निस्किएको हुँ,’ खतिवडाले भने।
कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष वाग्लेले खतिवडाको देश चिन्ने र चिनाउने सपना पूरा होस् भन्दै यात्राको सफलताको शुभकामना दिए। कार्यक्रममा सहभागी अतिथिहरूले उनको साहस र यात्राको उद्देश्यको प्रशंसा गर्दै यात्राले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरे। उनीहरूले आवश्यक सहयोग र सहकार्यका लागि प्रतिबद्धतासमेत जनाए।
खतिवडाको यात्रा सफल, सुरक्षित र प्रेरणादायी बनाउन बुधबारे जेसीजले विभिन्न संघसंस्थासँग समन्वय गरी बिदाइ कार्यक्रम आयोजना गरेको हो। उनको यात्रामा बुद्धशान्ति गाउँपालिका वडा नं. १, बुधबारे जेसीज र न्यू स्टार युथ क्लबले विशेष सहजीकरण गरिरहेका छन्। यात्रा करिब दुई महिनामा पूरा हुने अनुमान गरिएको छ।
बुधबारे जेसीजको समन्वयमा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव विनोद रिजालले गरेका थिए भने आस्था वाचन गजुहाङ योङहाङले गरेका थिए।



