झापा, ३ मंसिर । झापाको बिर्तामोडबाट ब्राउन सुगर (खैरो हेरोइन) सहित एक युवक पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा इलामको रोङ गाउँपालिका–१ घर भई हाल बिर्तामोड नगरपालिका–५ स्थित देउराली होटलमा बस्दै आएका २३ वर्षीय रचित भट्टराई रहेका छन् ।

मंगलबार साँझ ५ः४५ बजे बिर्तामोड नगरपालिका–५ गणपति रोडस्थित अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा रहेका भट्टराईलाई चेकजाँच गर्दा लागूऔषधजस्तो देखिने पदार्थ फेला पारेको थियो ।
उनको साथबाट नगद २३ हजार ५०० रुपैयाँ र मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । थप अनुसन्धानका क्रममा उनले होटलमा बसेको कोठामा लागूऔषध लुकाएर राखेको खुलाएपछि प्रहरीले खानतलासी गर्दा थप लागूऔषध बरामद गरेको थियो ।
प्रहरीले बरामद लागूऔषधको तौल ७ ग्राम ९५० मिलिग्राम रहेको जनाएको छ । पक्राउ परेका भट्टराईमाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।



