बिर्तामोड, ३ मंसिर । झापामा पछिल्लो तीन महिनाको अवधिमा आगलागीका ४५ घटना भएका छन् । भदौ, असोज र कात्तिक महिनामा भएका आगलागीबाट १७ करोड ५१ लाख १३ हजार ९७५ रुपैयाँ बराबरको आर्थिक क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार कात्तिक महिनामा मात्रै आगलागीका २६ घटना भएका छन् । ती घटनाबाट ६ करोड ७२ लाख २१ हजार रुपैयाँ बराबरको अनुमानित क्षति भएको छ । आगलागीमा परी दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

त्यस्तै, असोज महिनामा आगलागीका १२ घटना हुँदा १० करोड ६६ लाख ८२ हजार ९७५ रुपैयाँ बराबरको क्षति भएको थियो । भदौ महिनामा सातवटा आगलागीका घटना भएका थिए । ती घटनाबाट १२ लाख १० हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीका अनुसार पछिल्लो तीन महिनामा जिल्लामा भएका विपद्का घटनामध्ये आगलागीबाट सबैभन्दा बढी आर्थिक क्षति भएको छ ।
तीन महिनाको तथ्याङ्क हेर्दा आगलागीका घटनाको सङ्ख्या कात्तिकमा उल्लेख्य रूपमा बढेको देखिन्छ भने असोज महिनामा सबैभन्दा बढी आर्थिक क्षति भएको छ ।



