झापा, ३ मंसिर । पूर्व–पश्चिम हुलाकी राजमार्गअन्तर्गत झापा खण्डमा करिब डेढ दशकदेखि अलपत्र रहेको कनकाई पुल निर्माण सम्पन्न गर्न सर्जकहरूले कवितामार्फत राज्यलाई दबाब दिएका छन् ।
हुलाकी सडक संघर्ष समितिका संयोजक एवम् अभियानकर्मी पत्रकार रामरिझन यादवको संयोजनमा अलपत्र कनकाई पुल परिसरमा आयोजित ‘हुलाकी बहुभाषिक कनकाई कवि तथा संवाद सम्मेलन’मा झापा, मोरङ र छिमेकी मुलुक भारतका साहित्यकारहरूले कविता, मुक्तक र रचनामार्फत पुल निर्माणको माग गरेका हुन् ।

हुलाकी सडक संघर्ष समिति झापा खण्डका संयोजक मनोज विष्टको अध्यक्षतामा आयोजित सम्मेलनमा हुलाकी सडककै विषयलाई प्राथमिकतामा राखेर मेची–महाकाली पैदलयात्रा गरेका राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा संघीय सांसद डा. अमरेशकुमार सिंहले हुलाकी राजमार्गमा देखिएका अवरोधबारे संसद् र सरकारको ध्यानाकर्षण गराउने बताए ।
उनले अधुरा पुल तथा सडक निर्माण यथाशीघ्र सम्पन्न गर्न आफूले सरकारलाई दबाबमूलक सुझाव दिने प्रतिबद्धता जनाए ।
सम्मेलनमा झापा क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य शम्भुप्रसाद ढकालले कनकाई पुल अब अलपत्र नरहने दाबी गर्दै सरकारले निर्माण प्रक्रिया अघि बढाइसकेको जानकारी दिए । उनले मुक्तकमार्फत पुल नबन्दा स्थानीयले भोग्नुपरेको सास्ती र पीडासमेत अभिव्यक्त गरेका थिए ।
भाषाविद् मोशन शरणजीले सञ्चालन गरेको सम्मेलनमा विराट साहित्य संगमका अध्यक्ष मधु पोखरेल, विराटनगरका शिवनारायण सिंगल, झापाका प्राज्ञ कवि हरि पौडेल, साहित्यकार केशव आचार्य, मारवाडी कवि सत्यनारायण तायल, प्रयाग न्यौपाने, कुशेश्वर राई, बाबुराम पोखरेल, शैलेन घिमिरे, उद्धव केसी, विरही अधिकारी, दुर्गाप्रसाद सिग्देल, तुलसीप्रसाद भट्टराई, कृष्णप्रसाद मिश्र, अर्जुन नेपाल, हेमसागर पोखरेललगायतले पुल निर्माणको माग गर्दै कविता तथा मुक्तक वाचन गरेका थिए ।
त्यसैगरी, बहुभाषिक साहित्य संगीत कला केन्द्र झापाका निरज पोखरेल, अनिता पौडेल, शोभा विश्वकर्मा र सञ्जयले स्वागत गीत प्रस्तुत गरेका थिए । सम्मेलनका संयोजक यादवले शब्दमार्फत सहभागीहरूलाई स्वागत गरेका थिए ।
कार्यक्रममा भारतको बिहारस्थित बहादुरगञ्जका लेखक तथा विद्वान् डा. पीपी सिन्हाद्वारा हिन्दी र सुर्जापुरी भाषामा लिखित चारवटा पुस्तकसमेत लोकार्पण गरिएको थियो ।



