झापा, ३ मंसिर । देशमा हाल पश्चिमी वायुका साथै ‘अक्वान’ चक्रवातको आंशिक प्रभाव रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश तथा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहेको छ । तराईका भूभाग, उपत्यका तथा खोँचका अधिकांश स्थानमा बिहानैदेखि तुवाँलो र हुस्सु लागेको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी र मधेस प्रदेशका साथै बागमती र गण्डकी प्रदेशका हिमाली भूभागमा आंशिक बदली रहनेछ । देशका बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ ।

त्यसैगरी, आज राति कोशी र मधेस प्रदेशमा आंशिक बदली रहने तथा अन्य भूभागमा मौसम मुख्यतया सफा रहनेछ । तराईका भूभाग, उपत्यका तथा खोँचका केही स्थानमा बिहानपख हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेकाले महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ ।



