बिर्तामोड, २ मंसिर । नेपाली कांग्रेसको पहलमा झापा गाउँपालिकाका स्थानीयवासीले तीनवटा अस्पतालमा उपचार गराउँदा २५ देखि ५० प्रतिशतसम्म छुट पाउने भएका छन् ।
नेपाली कांग्रेस झापाको पहलमा झापा गाउँपालिकाका नागरिकलाई लक्षित गरी काठमाडौंको सिनामंगलस्थित केएमसी, भक्तपुरस्थित केएमसी र विराटनगरस्थित नोबेल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचार सेवामा छुट उपलब्ध गराउने सम्झौता भएको हो ।

नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवे र नोबेल अस्पताल विराटनगरका दीपेश राईको विशेष उपस्थितिमा दुवै पक्षबीच सम्झौतापत्रमा हस्ताक्षर गरिएको थियो । अस्पतालका तर्फबाट नारायण दाहाल र सुधा कट्टेल तथा नेपाली कांग्रेस झापा गाउँ समितिका सभापति सागिरथ गणेश र उपसभापति तेजबहादुर श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । मंसिर १ गतेदेखि लागू हुने गरी सम्झौता गरिएको जनाइएको छ ।
सम्झौताअनुसार झापा गाउँपालिकाको सिफारिसमा उपचारका लागि जाने बिरामीले तीनवटै अस्पतालमा दर्ता शुल्क तिर्नुपर्ने छैन । त्यस्तै, जनरल बेड, आईसीयू, एचडीयू, सीसीयू, अपरेसन, ल्याब परीक्षण, सिटीस्क्यान, एमआरआई, एक्स–रे, यूएसजी, डेन्टल एक्स–रे र ईसीजी लगायतका सेवामा २५ प्रतिशत छुट पाउनेछन् ।
त्यसैगरी, इन्डोस्कोपी, फिजियोथेरापी, दन्त उपचार, ईआरसीपी र एमआरसीपी लगायतका सेवामा पनि २५ प्रतिशत छुट उपलब्ध हुने सम्झौतामा उल्लेख छ ।
अस्पतालअनुसार छुटको दर भने फरक हुनेछ । भक्तपुरस्थित केएमसी अस्पतालमा ५० प्रतिशत तथा सिनामंगलस्थित केएमसी र विराटनगरस्थित नोबेल अस्पतालमा २५ प्रतिशत छुट उपलब्ध हुनेछ ।
नेपाल सरकारद्वारा सञ्चालित स्वास्थ्य बीमा, विपन्न नागरिक औषधि उपचार कोषलगायतका सरकारी सुविधा उपभोग गरिसकेपछि बाँकी उपचार खर्चमा पनि सम्झौताअनुसार छुट पाइने जनाइएको छ । स्वास्थ्य बीमामा आबद्ध नभएका तथा बीमा गरे पनि बीमा सक्रिय नभइसकेको अवस्थामा रहेका बिरामीले समेत यो सुविधा लिन सक्नेछन् ।
मंसिर १ गतेदेखि सुरु भएको छुट सुविधा आगामी असार मसान्तसम्म कायम रहनेछ । त्यसपछि दुवै पक्षको सहमतिमा सम्झौताको अवधि थप गर्न सकिने व्यवस्था गरिएको छ ।
यस सम्झौताबाट आर्थिक अवस्था कमजोर भएका तथा उपचारका लागि काठमाडौं र विराटनगर पुग्नुपर्ने झापा गाउँपालिकाका नागरिकलाई आर्थिक राहत पुग्ने अपेक्षा गरिएको छ ।



