झापा, २ मंसिर । झापाको अर्जुनधारास्थित शनिश्चरेमा मंसिर ९ गते आयोजना हुने अर्जुनधारा हाफ म्याराथनको तयारी तीव्र पारिएको छ। प्रतियोगितालाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन आयोजकले आज सुरक्षा निकायका प्रमुखहरूसँग आवश्यक छलफल गरेको छ।
अर्जुनधारा जलेश्वरधाम परिसरमा भएको छलफलमा इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख सन्तोष पाठक, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख सन्तोष राई, सशस्त्र प्रहरी बल शनिश्चरे बेस क्याम्पका प्रमुख तथा प्रहरी चौकी शनिश्चरेका प्रमुख सहभागी थिए।

छलफलमा म्याराथन सञ्चालन हुने रुटको ट्राफिक व्यवस्थापन, खेलाडीको सुरक्षा तथा प्रतियोगिताका क्रममा अपनाउनुपर्ने सुरक्षा सतर्कताका विषयमा विचारविमर्श गरिएको थियो।
आयोजकका तर्फबाट म्याराथन संयोजक मिलन बस्नेत र सहसंयोजक प्रशान्त भण्डारीले प्रतियोगिता सञ्चालन हुने रुटबारे सुरक्षा निकायका प्रतिनिधिलाई जानकारी गराएका थिए।
म्याराथन शनिश्चरे बजारबाट सुरु भई सालबारी झिल, खरबन्दी, कालिस्थान, धाइजन चोक, बुधबारे, जयपुर, झम्के चोक र नारायण चोक हुँदै अर्जुनधारा जलेश्वरधाम परिसरको पिपल चोकमा पुगेर समापन हुनेछ।
प्रतियोगितामा महिला र पुरुष दुवैतर्फका विजेताले जनही एक लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। दोस्रो हुनेले ७५ हजार र तेस्रो हुनेले ५१ हजार रुपैयाँ पाउनेछन्। त्यस्तै, चौथोदेखि दशौँ स्थानसम्म हासिल गर्ने खेलाडीले जनही १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने सहसंयोजक प्रशान्त भण्डारीले जानकारी दिए।
अर्जुनधारा जलेश्वरधामको संरक्षकत्व तथा अर्जुनधारा नगरपालिका र नगर खेलकुद विकास समितिको संयोजनमा महिला तथा पुरुष दुवैतर्फ खुला हाफ म्याराथन आयोजना हुन लागेको हो।
‘लागुऔषध दुर्व्यसन न्यूनीकरण तथा अर्जुनधारा जलेश्वरधामको प्रवर्द्धनका लागि युवा’ भन्ने मूल नाराका साथ सन्तलाल वृजमोहन गट्टानी स्मृतिमा प्रतियोगिता सञ्चालन गर्न लागिएको संयोजक मिलन बस्नेतले जानकारी दिए।



