ललितपुर, २ मंसिर । प्रहरीले ललितपुरको नख्खुबाट स्रोत नखुलेको एक करोड ६७ लाख ३३ हजार २३० रुपैयाँ बरामद गरेको छ। घटनामा संलग्न रहेको आशंकामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
विशेष सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले मंगलबार नख्खु दोबाटो चोकमा सवारीसाधन जाँच गर्ने क्रममा उक्त रकम बरामद गरेको हो।


सानेपाबाट सातदोबाटोतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२७ च २७६५ नम्बरको गाडी जाँच गर्दा सो रकम फेला परेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा ललितपुरको गोदावरी नगरपालिका–१० चापागाउँका ३२ वर्षीय जयराम केसी, काठमाडौं बानेश्वरका २९ वर्षीय प्रज्वल रिजाल र भोजपुर नगरपालिका–३ घर भई हाल काठमाडौंको कोटेश्वर बस्ने ३१ वर्षीय दीपक खड्का रहेका छन्।
बरामद रकम र गाडीसहित पक्राउ परेका तीनै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिएका छन्।


