झापा, २ मंसिर । झापाको मेचीनगर नगरपालिका–१५ ज्यामिरगढीस्थित नेचर हिमालय टी इन्डस्ट्रिज प्रालिमा मंगलबार आगलागी हुँदा करिब ३० लाख रुपैयाँ बराबरको क्षति भएको छ। दिउँसो करिब १ः५० बजे चिया कारखानाको मेसिनबाट अचानक आगो निस्किएपछि आगलागी भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी सुवास बुढाथोकीका अनुसार आगलागीबाट उद्योगका मेसिन तथा सुकाउन राखिएको चिया जलेर नष्ट भएको छ। आगलागीको सूचना प्राप्त हुनासाथ ज्यामिरगढी र चारआली प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। त्यसपछि मेचीनगर र भद्रपुर नगरपालिकाबाट दमकल बोलाइएको थियो।

स्थानीयवासी र प्रहरीको सहयोगमा दमकलले करिब आधा घण्टाको प्रयासपछि आगलागी पूर्ण रूपमा नियन्त्रणमा लिएको थियो । समयमै आगो नियन्त्रणमा लिन सकिएकाले उद्योगमा थप क्षति हुनबाट जोगिएको प्रहरीले जनाएको छ ।



