झापा, ३ मंसिर । झापाको बाह्रदशी गाउँपालिका–५ स्थित खटखटी टोलमा ट्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।
चारपाने–राजगढ भित्री सडकखण्डमा गए राति करिब १०ः४० बजे भएको दुर्घटनामा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु भएको हो ।

राजगढबाट चारपानेतर्फ जाँदै गरेको प्रदेश १–०१–०१२ प ४६३८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको मधेस प्रदेश ०३–००२ त १०४० नम्बरको धान काट्ने मेसिन जडित ट्याक्टर एकआपसमा ठोक्किएका थिए ।
झापाका डीएसपी सुवास बुढाथोकीका अनुसार दुर्घटनामा मृत्यु भएका दुवै जनाको पहिचान खुल्न सकेको छैन । उनीहरूको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ ।
दुर्घटनापछि ट्याक्टर चालक फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
दुवै सवारीसाधन नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



