बिर्तामोड, ३ मंसिर । झापाको शिवसताक्षी–११ स्थित सताक्षीधाममा आगामी माघ ९ गतेदेखि शतकुण्डीय गायत्री कोटी हवन महायज्ञ आयोजना हुने भएको छ ।
गोलोक गोवर्धन गौशालाको आयोजनामा हुने महायज्ञको पूर्वतयारीस्वरूप मंसिर ५ गते सुनको हलोले भूमि खनी वैदिक विधिअनुसार भूमिपूजन गरिने गौशालाका अध्यक्ष आचार्य नन्दकिशोरजी भारद्वाजले जानकारी दिए ।

झापामा करिब ४१ वर्षपछि कोटी हवन महायज्ञ हुन लागेको हो । यसअघि २०४२ सालमा राष्ट्रगुरु योगी नरहरिनाथको अगुवाइमा कनकाई धाममा कोटी हवन आयोजना गरिएको थियो ।
महायज्ञमा नेपालसहित भारत, भुटान, अमेरिका, क्यानडा र अस्ट्रेलियालगायतका देशबाट सन्तमहात्मा तथा धार्मिक गुरुहरूको सहभागिता रहने आयोजकले जनाएको छ ।
२०७२ सालमा स्थापना भएको गोलोक गोवर्धन गौशालामा हाल करिब दुई हजार ५०० गाई संरक्षण गरिँदै आएको छ । महायज्ञले सताक्षीधामको धार्मिक तथा पर्यटकीय पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ ।



