
काठमाडौँ , ५ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद प्रकाश पाठकले जेन्जी आन्दोलनका क्रममा घाइते भएका युवाहरूको उपचार र क्षतिपूर्तिको माग गर्दै सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै पाठकले आन्दोलनमा घाइते भएका युवाहरूले न्याय नपाएको भन्दै आपत्ति जनाएका हुन् ।
सांसद पाठकले झापामा ६ दिनदेखि अनशनरत आन्दोलनकारीहरूको अवस्था गम्भीर रहेको बताउँदै उनीहरूको मागप्रति सरकार उदासीन भएको आरोप लगाए । परिचय पत्रको व्यवस्था, निःशुल्क शिक्षा र दीर्घकालीन व्यवस्थापनको माग राख्दै आमरण अनशनमा बसेका युवाहरूको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको उनले बताए ।
सांसद पाठकले प्रश्न गर्दै भने, ‘एउटै आन्दोलनमा ज्यान गुमाउनेहरू सहिद र बाँचेकाहरू अपराधी कसरी हुन सक्छन् ।’ उनले झापामा प्रहरीको गोली लागेर मृत्यु भएका गोपाल सेढाईँ र दिनेश राजवंशीको उदाहरण दिँदै हालसम्म १०८ जना घाइते भएको र तीमध्ये ४३ जनाले मात्र परिचय पत्र पाएको जानकारी दिए ।
सांसद पाठकले सरकारलाई सोधे, ‘राज्यले पीडितको संरक्षण गर्दैछ कि पिडकको ? यदि सरकारले आफूलाई लोकतान्त्रिक मान्छ भने आन्दोलनमा घाइते भएकाहरूलाई तत्काल न्याय दिनुपर्छ।’
उनले थपे, ‘आफ्नो अकर्मण्यता ढाकछोप गर्न गोलीको सहारा लिनेहरूले आज जेन्जी आन्दोलनलाई कमजोर बनाउन खोजेका छन्। तर, यो आन्दोलनको बलमा बनेको सरकारले कतै न कतै गल्ती गर्दैछ।’


