झापा, १९ कात्तिक । झापा जिल्ला अन्तरपालिका कर्मचारी फुटबल प्रतियोगिताको उपाधि आयोजक कनकाई नगरपालिकाले जितेको छ । फाइनलमा शिवसताक्षी नगरपालिकालाई ४–१ गोल अन्तरले पराजित गर्दै कनकाईले लगातार दोस्रो पटक उपाधि रक्षा गरेको हो ।
झापाको कनकाई नगरपालिका–३ सुरुङ्गास्थित कनकाई माध्यमिक विद्यालयको खेल मैदानमा कात्तिक १३ गतेदेखि सञ्चालन भएको प्रतियोगिताको फाइनल खेल बुधबार कात्तिक १८ गते सम्पन्न भएको हो ।

उपाधिसँगै कनकाई नगरपालिकाले नगद एक लाख रुपैयाँ र ट्रफी प्राप्त गरेको छ । उपविजेता शिवसताक्षी नगरपालिकाले नगद ७५ हजार रुपैयाँ र ट्रफीमा चित्त बुझाएको छ ।
फाइनल खेलको सुरुवातदेखि नै आक्रामक देखिएको कनकाईका विशाल थेबेले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० को अग्रता बनाएको कनकाईले दोस्रो हाफमा थप तीन गोल गर्यो ।
कनकाईका अंकित राईले दुई गोल गर्दा विशाल थेबेले थप एक गोल गरे । शिवसताक्षीका सचिन श्रेष्ठले दोस्रो हाफमा एक गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन सकेनन् । अन्ततः कनकाईले ४–१ को सहज जित निकाल्दै उपाधि उचाल्यो ।
फाइनल खेलको म्यान अफ द म्याच कनकाईका विशाल थेबे घोषित भए । उनलाई ट्रफीसहित नगद एक हजार रुपैयाँ प्रदान गरिएको थियो ।
प्रतियोगितामा रुचन लिम्बु सर्वाधिक गोलकर्ता तथा उत्कृष्ट खेलाडी घोषित भए । त्यस्तै, कनकाईका लक्ष्मण भुजेल उत्कृष्ट डिफेन्डर, ज्ञानेन्द्र निरौला उत्कृष्ट गोलकिपर र लिलु गिरी उत्कृष्ट प्रशिक्षक घोषित भए । शिवसताक्षीका श्रवण मल्लिक उत्कृष्ट मिडफिल्डर बने । विधागत उत्कृष्ट सबै खेलाडीलाई ट्रफी प्रदान गरिएको थियो ।
प्रतियोगिताको समापन समारोहका प्रमुख अतिथि कनकाई नगरपालिकाका नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले विजेता, उपविजेता तथा विधागत उत्कृष्ट खेलाडीलाई पुरस्कार वितरण गरेका थिए । कार्यक्रममा शिवसताक्षी नगरपालिकाका नगर प्रमुख रोशन थोप्रा, कनकाई नगरपालिकाकी उपप्रमुख आशा शर्मा शिवाकोटी, प्रमुख प्रशासकीय अधिकृत पंकज भुर्तेल, प्रतियोगिता आयोजक समितिका संयोजक क्षेत्रनाथ शर्मालगायत दुवै पालिकाका विभिन्न वडाका वडाध्यक्षहरूको उपस्थिति थियो ।
जिल्लाभरका विभिन्न स्थानीय तहमा कार्यरत कर्मचारीबीच आपसी सद्भाव, मेलमिलाप र भाइचारा सम्बन्ध प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना हुँदै आएको छ । स्थानीय तह स्थापना भएदेखि निरन्तर सञ्चालन हुँदै आएको यस प्रतियोगिताको आयोजना परम्पराअनुसार अघिल्लो संस्करणको विजेता टोलीले गर्दै आएको छ ।



