झापा, २० कात्तिक । झापाको मेचीनगरबाट प्रहरीले ठूलो परिमाणमा अवैध गाँजा बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मेचीनगर नगरपालिका–५ सिर्जना चोकस्थित चिया बगानमा लुकाइछिपाइ राखिएको अवस्थामा ५५७ केजी गाँजा बरामद गरिएको हो।

प्रहरीले कात्तिक २० गते बिहान ७ः५० बजेको समयमा विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय काँकरभिट्टा र अस्थायी प्रहरी पोस्ट इँटाभट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले उक्त गाँजा बरामद गरेको जनाएको छ।
प्रहरी टोलीले घटनास्थलबाट १३ पोका गाँजा फेला पारेको थियो। प्लास्टिकसहित ५६२ केजी ८०० ग्राम र प्लास्टिकबाहेक ५५७ केजी गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिएका छन्।
बेवारिसे अवस्थामा फेला परेको गाँजाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।



