बिर्तामोड, १९ कात्तिक । झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ६, ७ र ८ लाई जोड्ने बुट्टाबारी–प्याकुरेल चोक सडकको औपचारिक उद्घाटन गरिएको छ।
कोशी प्रदेशका सांसद तथा पूर्व खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री एकराज कार्की र बिर्तामोड नगरप्रमुख पवित्रा महतारा प्रसाईले रिबन काटेर सडकको उद्घाटन गर्नुभएको हो।

विश्व बैंकको ५८ करोड ८३ लाख ५९ हजार ५६५ रुपैयाँ लागतमा निर्माण गरिएको सडकको लम्बाइ ६ दशमलव २५ किलोमिटर र चौडाइ १२ मिटर रहेको नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले जानकारी दिनुभयो।
सडक निर्माणका लागि २०८० वैशाख २९ गते आरपी साप समता जेभीसँग ठेक्का सम्झौता गरी काम सुरु गरिएको थियो। नगरप्रमुख प्रसाईले २०८० वैशाख २६ गते सडक निर्माणको शिलान्यास गर्नुभएको थियो।
उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि सांसद कार्कीले पछिल्लो समय देशमा केही पनि विकास नभएको भन्ने गलत भाष्य निर्माण गर्न खोजिएको बताउनुभयो। उहाँले पूर्वाधार विकासका क्षेत्रमा उल्लेखनीय काम भइरहेको उल्लेख गर्दै बुट्टाबारी–प्याकुरेल सडक निर्माणका लागि आफूहरूले लामो समयदेखि गरेको पहलले सार्थकता पाएकोमा खुसी व्यक्त गर्नुभयो।
नगरप्रमुख प्रसाईले विभिन्न चुनौतीको सामना गर्दै सडक निर्माण सम्पन्न गरिएको बताउनुभयो। हेर्दा सामान्य देखिए पनि भौगोलिक अवस्थाका कारण निर्माण कार्य कठिन रहेको उल्लेख गर्दै उहाँले सडकलाई नमुना सडकका रूपमा विकास गरिएको बताउनुभयो। सडकको दायाँबायाँ सोलार बत्ती जडानका लागि प्रदेश सरकारसँग पहल भइरहेको पनि उहाँले जानकारी दिनुभयो।
सडक निर्माण सम्पन्न भएसँगै बिर्तामोडका तीनवटा वडाका बासिन्दाको आवागमन सहज हुने अपेक्षा गरिएको छ। यसले स्थानीय विकास, व्यापार व्यवसाय तथा आर्थिक गतिविधिमा समेत सकारात्मक योगदान पुर्याउने विश्वास गरिएको छ।
नगरप्रमुख प्रसाईको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल सहरी शासकीय पूर्वाधार आयोजना कार्यालयका निर्देशक लीला खतिवडा, नेकपा एमालेका नेता देवराज कार्की, नेपाली कांग्रेस बिर्तामोड नगर सभापति कुलप्रसाद संग्रौला र राष्ट्रिय स्वतन्त्र पार्टीका नगर सभापति दीपक दाहाललगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।
कार्यक्रममा जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका स्थानीय नेता, कर्मचारी तथा स्थानीय उपभोक्ताको उपस्थिति रहेको थियो।



