झापा, ४ मंसिर । निर्वाचन आयोग स्थानीय तहको निर्वाचनको तयारीमा जुटेको छ । निर्वाचनको पूर्वतयारीस्वरूप आयोगले राजनीतिक दलहरूसँग छलफल तथा परामर्श सुरु गर्न लागेको हो ।
आयोगले आज बिहान ११ः३० बजे राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका प्रतिनिधिहरूलाई छलफलका लागि आमन्त्रण गरेको छ ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले स्थानीय तहको निर्वाचनका विषयमा आवश्यक परामर्श गर्न दलहरूलाई बोलाइएको जानकारी दिए ।
उनका अनुसार स्थानीय तथा प्रदेश तहको निर्वाचनको तयारी, निर्वाचन मिति निर्धारण र व्यवस्थापनका विषयमा दलहरूसँग छलफल हुनेछ ।
प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रिय दलको मान्यता प्राप्त गरेका छन् ।
स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल आगामी वैशाखमा सकिने भएकाले आयोगले नयाँ निर्वाचनको तयारी थालेको हो ।
राष्ट्रिय मान्यता प्राप्त दलहरूसँगको छलफलपछि आयोगमा दर्ता भएका अन्य राजनीतिक दलहरूसँग पनि परामर्श गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ ।



