झापा, ५ मंसिर । झापाको बिर्तामोड–५ स्थित बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको निर्वाचन आगामी मंसिर १४ गते हुने भएको छ । हालसम्म निर्वाचनमा दुई समूहबीच प्रतिस्पर्धा हुने देखिएको छ ।
निर्वाचन तालिका सार्वजनिक भएसँगै नेपाली कांग्रेसको संस्थापन पक्ष र अन्य दलहरूबीच प्रतिस्पर्धा हुने देखिएको हो । कांग्रेसको संस्थापन पक्षलाई राष्ट्रिय प्रजातन्त्र पार्टीले सहयोग गर्ने भएको छ । उक्त समूहबाट संस्थाका वर्तमान सचिव पारस मैनाली अध्यक्ष र वर्तमान उपाध्यक्ष शैलेन्द्र सिटौला पुनः उपाध्यक्षका उम्मेदवार बन्ने देखिएको छ ।

दुई कार्यकाल सदस्य रहेका मैनाली अघिल्लो निर्वाचनबाट सचिवमा निर्वाचित भएका थिए । एक कार्यकाल मात्र नेतृत्व गर्ने सहमतिअनुसार वर्तमान अध्यक्ष मेघराज बास्तोलाले भने नेतृत्व नदोहोर्याउने भएका छन् । उक्त समूहका अन्य उम्मेदवारको टुंगो लागिसकेको छैन ।
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट देवीभक्त श्रेष्ठले अध्यक्षमा उम्मेदवारी दिने चर्चा चलेको छ । संस्थाको कार्यसमितिमा अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र पाँच सदस्य गरी नौ पदका लागि निर्वाचन हुन लागेको हो । निर्वाचन कार्यतालिकाअनुसार मंसिर ७ गते उम्मेदवारी दर्ता र मंसिर १४ गते मतदान हुने तय भएको छ ।
यस्तो छ निर्वाचन तालिका




