झापा, ५ मंसिर । एक्स्ट्रिम दोस्रो झापा महिला गोल्डकप २०८३ अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ। प्रतियोगिता आज मङ्सिर ५ गतेदेखि शिवसताक्षीस्थित दुधे रंगशालामा सुरु हुँदैछ।
प्रतियोगिता अवलोकनका लागि रंगशालामा एकैपटक सात हजार दर्शक बस्न सक्ने गरी अस्थायी प्याराफिट निर्माण गरिएको आयोजकले जनाएको छ।

गोल्डकपका अध्यक्ष सन्तोष थोप्रा लिम्बूका अनुसार उद्घाटन खेलमा आयोजक झापा–११ फुटबल क्लब र आरएस पोखरा फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ।
प्रतियोगिताको विजेताले ११ लाख रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछ भने उपविजेताले पाँच लाख ५० हजार रुपैयाँ पाउनेछ। गत संस्करणको तुलनामा यसपटक विजेताको पुरस्कार ९० हजार र उपविजेताको ५० हजार रुपैयाँले वृद्धि गरिएको अध्यक्ष लिम्बूले जानकारी दिए।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक लाख ५० हजार रुपैयाँसहित ट्रफी पाउनेछन्। उत्कृष्ट प्रशिक्षक, गोलकिपर, डिफेन्डर, मिडफिल्डर, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिनेछ।
त्यस्तै, प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई १५ हजार रुपैयाँ र ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ।



