झापा, ५ मंसिर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले उदयपुरको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलामा कार्यरत प्रहरी निरीक्षक अस्वीन तोलाङ्गेलाई २०८३ साल कात्तिक महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित गरेको छ।
अपराध अनुसन्धान, फरार अभियुक्त पक्राउ तथा लागूऔषध नियन्त्रणमा उत्कृष्ट कार्य गरेको मूल्याङ्कन गर्दै उनलाई सर्वोत्कृष्ट प्रहरी घोषित गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

तोलाङ्गेको नेतृत्वमा बेलका नगरपालिका–३ स्थित गिदेरी खोलाको कासघारीमा १४ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरी गर्भवती बनाएको आरोपमा फरार रहेका समिर परियार पक्राउ परेका थिए।
त्यस्तै, बेलका नगरपालिका–९ रामपुर बजारमा पैदलयात्री ५६ वर्षीया लक्ष्मीमाया राईको मृत्यु हुने गरी भएको सवारी दुर्घटनामा फरार बोलेरो गाडी र चालक प्रेमबहादुर विकलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन पनि उनले भूमिका निर्वाह गरेका थिए।
यसैगरी, बेलका नगरपालिका–७ स्थित पित्लाङ जंगलमा लुकाइछिपाइ राखिएको २ हजार ८२० दशमलव ५० किलो गाँजा बरामद गर्नुका साथै करिब ६ रोपनी क्षेत्रफलमा लगाइएका २ हजार २०० बोट गाँजा फडानी गरी नष्ट गरिएको थियो।
विभागीय मूल्य–मान्यता, आदेश–निर्देशनको पालना गर्दै उच्च मनोबल, अनुशासन र व्यावसायिकताका साथ जिम्मेवारी पूरा गरेको भन्दै प्रदेश प्रहरी कार्यालयले उनको कार्यसम्पादनको उच्च मूल्याङ्कन गरेको जनाएको छ।



