झापा, ४ मंसिर । नेपाली बजारमा सुनको मूल्य शुक्रबार एकै दिन १२ हजार रुपैयाँभन्दा बढीले घटेर प्रतितोला २ लाख ४५ हजार ४०० रुपैयाँ कायम भएको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको गिरावट र अमेरिकी डलर बलियो बनेपछि नेपाली बजारमा पनि मूल्य घटेको हो।
अमेरिकामा ब्याजदर बढ्ने सम्भावना, डलरको मजबुती र अन्तर्राष्ट्रिय आर्थिक अनिश्चितताले सुनको मूल्यमा दबाब परेको विश्लेषण गरिएको छ। ब्याजदर बढ्दा लगानीकर्ताहरू सुनभन्दा सरकारी बन्ड र डलरमा लगानी गर्न आकर्षित हुने भएकाले सुनको माग घट्ने गर्छ।

अल्पकालीन रूपमा सुनको मूल्य अस्थिर रहने अनुमान गरिए पनि केही अन्तर्राष्ट्रिय बैंकले केन्द्रीय बैंकहरूको खरिदका कारण सन् २०२७ को मध्यतिर मूल्य पुनः बढ्न सक्ने प्रक्षेपण गरेका छन्।
यता मूल्य घटे पनि नेपाली बजारमा सुनको अभाव देखिएको व्यवसायीहरूले बताएका छन्। विवाहको लगन सुरु भएको र मूल्य घटेपछि ग्राहकको माग बढेको समयमा बैंकहरूले सुन आयात नगर्दा अभाव भएको उनीहरूको भनाइ छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका पूर्वअध्यक्ष तेजरत्न शाक्यका अनुसार बजारमा काँचो सुन पाउन मुस्किल भएको छ। अर्डरअनुसार नयाँ गहना बनाउने कामसमेत प्रभावित भएको उनले बताए। बैंकहरूले सोमबार मात्र सुन उपलब्ध गराउने जानकारी दिएको उनको भनाइ छ।
हाल नेपालमा दैनिक २५ किलो सुन आयातको कोटा रहेको छ। माग बढिरहेका बेला कोटा वृद्धि गर्नुपर्ने भए पनि सम्बन्धित निकायले पहल नगरेको शाक्यको गुनासो छ। उनले व्यवसायीको हित र बजार व्यवस्थापनमा महासङ्घको नेतृत्व प्रभावकारी हुन नसकेको आरोपसमेत लगाए।



