झापा, ४ मंसिर । प्रधानमन्त्री बालेन्द्र शाहले आगामी मङ्सिर ६ र ७ गते भारतको राजकीय भ्रमण गर्ने भएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री शाह भारत जान लागेका हुन् ।
परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री शाह मङ्सिर ६ गते दिउँसो १ः४५ बजे नेपाल वायुसेवाको विमानबाट नयाँदिल्ली प्रस्थान गर्नेछन् ।

भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकारसहित सरकारका वरिष्ठ अधिकारी सहभागी हुनेछन् । मन्त्रालयका अनुसार नेपालबाट ३४ सदस्यीय सरकारी प्रतिनिधिमण्डल भारत जानेछ भने निजी क्षेत्रका ५२ जना प्रतिनिधि आफ्नै खर्चमा भ्रमणमा सहभागी हुनेछन् ।
भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । त्यस्तै, मङ्सिर ७ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ । प्रधानमन्त्री मोदीले शाहको सम्मानमा दिवा भोज आयोजना गर्ने कार्यक्रमसमेत रहेको छ ।
यसैगरी, भारतका विदेशमन्त्री एस. जयशंकरले पनि प्रधानमन्त्री शाहसँग शिष्टाचार भेट गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
नेपाल र भारतबीचको ऐतिहासिक, सांस्कृतिक तथा जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउँदै आपसी सहकार्यका विभिन्न क्षेत्रको समीक्षा गर्नु भ्रमणको मुख्य उद्देश्य रहेको मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्री शाह मङ्सिर ७ गते नै स्वदेश फर्किने कार्यक्रम रहेको छ ।



