इलाम, ५ मंसिर । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले इलामको सूर्योदय नगरपालिका–७ स्थित कन्याममा आजदेखि दुई दिने ‘प्रथम सूर्योदय चिया महोत्सव–२०८३’ सुरु हुँदैछ ।
सूर्योदय नगरपालिका, कोशी प्रदेश सरकार र पदमार्गमा आधारित पर्यटन विकास परियोजनाको साझेदारीमा आयोजना हुने महोत्सवको उद्घाटन कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री खिनु लङ्वा लिम्बूले गर्ने कार्यक्रम छ ।

चिया पर्यटन प्रवर्द्धन र निर्माणाधीन चिया पदमार्गको प्रचारप्रसार गर्ने उद्देश्यले पहिलोपटक महोत्सव आयोजना गरिएको कार्यक्रम व्यवस्थापन समिति संयोजक एवं वडाध्यक्ष पेमा उगेन लामाले बताउनुभयो । महोत्सवमा आन्तरिक तथा बाह्य गरी १० हजारभन्दा बढी पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ ।
महोत्सवमा टि ट्रेल रेस, चियासम्बन्धी अन्तरसंवाद, चिया स्वाद परीक्षण, चियाबारी पदयात्रा, स्थानीय खानाका परिकारको प्रदर्शनी तथा सांस्कृतिक झाँकी प्रस्तुत गरिनेछ । सूर्योदय क्षेत्रमा उत्पादित विभिन्न ब्रान्डका चियाको प्रदर्शनी, स्वाद परीक्षण र बजारीकरणको व्यवस्था पनि गरिएको छ ।
महोत्सवअन्तर्गत पुरुषतर्फ १२ दशमलव ५ किलोमिटर र महिलातर्फ नौ किलोमिटर दूरीको टि ट्रेल रेस प्रतियोगिता हुनेछ । पुरुषतर्फ प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । महिलातर्फ प्रथम हुनेले २० हजार, द्वितीयले १० हजार र तृतीयले पाँच हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
सूर्योदय नगरपालिका–७ कन्यामदेखि वडा नं। ५ श्रीअन्तुसम्म २५ दशमलव पाँच किलोमिटर लामो चिया पदमार्ग निर्माण भइरहेको छ । सूर्योदय नगरपालिका, कोशी प्रदेश सरकार र स्वीस सरकारको सहयोगमा सञ्चालित पदमार्गमा आधारित पर्यटन विकास परियोजनाअन्तर्गत निर्माण भइरहेको पदमार्गको प्रचारप्रसारका लागि महोत्सव आयोजना गरिएको हो ।
महोत्सव सञ्चालनमा करिब १५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । कन्याम हरियाली चियाबारी, प्राकृतिक सौन्दर्य र सहज सडक पहुँचका कारण इलामको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा परिचित छ ।



