
झापा, २ चैत । चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको विकास खर्च कमजोर देखिएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार दोस्रो चौमासिक अवधिसम्ममा पुँजीगत खर्च १९ प्रतिशत हाराहारी मात्र भएको छ।
संघीय सरकारले चालु आर्थिक वर्षका लागि कुल १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट ल्याएको थियो। फागुन मसान्तसम्ममा नौ खर्ब २६ अर्ब ५८ करोड ६५ लाख खर्च भएको छ, जुन वार्षिक विनियोजनको ४७ दशमलव १८ प्रतिशत हो। चालु शीर्षकमा ११ खर्ब ८० अर्ब ९८ करोड विनियोजन भएकामा ५४ दशमलव ३७ प्रतिशत खर्च भएको छ।
पुँजीगत शीर्षकमा चार खर्ब सात अर्ब ८८ करोड ८० लाख विनियोजन भएकामा १९ दशमलव २४ प्रतिशत मात्र खर्च भएको छ भने वित्तीय व्यवस्थातर्फ तीन खर्ब ७५ अर्ब २४ करोड २० लाख विनियोजनमध्ये हालसम्म ५४ दशमलव ८९ प्रतिशत अर्थात् दुई खर्ब पाँच अर्ब ९५ करोड २३ लाख खर्च भएको छ।
त्यस्तै, फागुन मसान्तसम्मको सरकारी राजस्व सङ्कलन वार्षिक लक्ष्यको ४९ दशमलव ८९ प्रतिशत बराबर छ। चालु आर्थिक वर्षमा १५ खर्ब ३३ अर्ब ४४ करोड ६९ लाख राजस्व उठाउने लक्ष्य राखिएकोमा हालसम्म सात खर्ब ६५ अर्ब १० करोड १६ लाख राजस्व उठेको छ।
कर राजस्वतर्फ १३ खर्ब २५ अर्ब ५८ करोड ३९ लाख उठाउने लक्ष्य रहेकामा फागुन मसान्तसम्ममा वार्षिक लक्ष्यको ५१ दशमलव ४ प्रतिशत असुली भएको छ। गैरकर राजस्वतर्फ एक खर्ब ५४ अर्ब ४१ करोड ६१ लाख उठाउने लक्ष्य रहेकामा हालसम्म ४५ दशमलव ७८ प्रतिशत असुली भएको छ।
वैदेशिक अनुदानतर्फ सरकारले ५३ अर्ब ४४ करोड ६९ लाख बराबरको लक्ष्य राखेकोमा हालसम्म २४ दशमलव ७८ प्रतिशत अर्थात् १३ अर्ब २४ करोड ५० लाख प्राप्त भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ।


