
झापा, ६ चैत । झापाको कमल गाउँपालिका–५ सितापुरीचोकस्थित पूर्व–पश्चिम राजमार्गमा गाडी चालकको मृत्यु भएको छ ।
बिहीबार साँझ करिब ६ः३० बजे बिर्तामोडबाट पथरीतर्फ जाँदै गरेको प्र.न. १–०४–००१च.००८० नम्बरको स्कारपियो गाडीका चालक मोरङ शनिश्चरे नगरपालिका–९ का ४५ वर्षीय योगेश धिमाल अचानक असहज भई गाडी सडक किनारमा रोकेर बेहोस भएका थिए ।
सोही गाडीमा सवार यात्रुहरूले बोलाउँदा प्रतिक्रिया नदिएपछि स्थानीयको सहयोगमा उनलाई तत्काल उपचारका लागि निम्स अस्पताल दमक पुर्याइएको थियो । तर, उपचारको क्रममा साँझ ८ बजे अस्पतालमै उनको मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ ।
घटनापछि अनुसन्धान तथा कानुनी प्रक्रिया पूरा गर्न इलाका प्रहरी कार्यालय दमकबाट अधिकृतको टोली खटिएको थियो । मृतकको शवलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी राति नै पोष्टमार्टमका लागि मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर उर्लाबारी मोरङ पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


