
मोरङ र झापाबाट ब्राउन सुगर, गाँजा र भरुवा बन्दुकसहित ६ जना पक्राउ
झापा, १४ साउन । मोरङ र झापाका विभिन्न स्थानबाट प्रहरीले लागूऔषध, गाँजा र अवैध भरुवा बन्दुकसहित ६ जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार मोरङको रतुवामाई नगरपालिका–२ हरुचोकबाट इलाका प्रहरी कार्यालय डोरियाको टोलीले रतुवामाई–८ निवासी २३ वर्षीय समिर कट्वाल र २३ वर्षीय समिर भुजेललाई ६५० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो।
यस्तै विराटनगर महानगरपालिका–४ स्थित विराटनगर विमानस्थलमा कार्गो सामानको जाँचका क्रममा Expoxpress कुरियर मार्फत विराटनगरका राघव झाले काठमाडौंको तारकेश्वर–मनमैजु निवासी अशोक विश्वकर्माका नाममा पठाएको जुत्ताभित्र लुकाइएको १८ ग्राम ४८० मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ। सोही घटनामा कुरियर गर्न आएका विराटनगर–५ का २४ वर्षीय सुशान्त खड्का पक्राउ परेका छन्।
यसैगरी सुन्दरहरैचा नगरपालिका–१० मुनालझोडामा इलाका प्रहरी कार्यालय बेलबारीको टोलीले ५६ वर्षीय बलबहादुर राईको घरमा खानतलासी गर्दा १ नाल भरुवा बन्दुक र १.५ किलोग्राम गाँजा बरामद गरेपछि उनलाई पक्राउ गरेको छ।
झापाको झापा गाउँपालिका–४ मा इलाका प्रहरी कार्यालय कुमरखोद र प्रहरी चौकी टाघनडुब्बाको संयुक्त टोलीले गौरादह नगरपालिका–४ निवासी २७ वर्षीय प्रकाश दियालीलाई ३ ग्राम १० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ।
त्यसैगरी मेचीनगर नगरपालिका–१० चाँदनीचोकमा इलाका प्रहरी कार्यालय धुलाबारीको टोलीले मेचीनगर–९ निवासी ३० वर्षीय छोटु सहनीलाई १ ग्राम २५० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको प्रहरीले जनाएको छ।
पक्राउ परेका सबैमाथि लागूऔषध तथा सम्बन्धित कसुरमा थप अनुसन्धान र कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।


