झापा, १५ कात्तिक । झापाको भद्रपुर नगरपालिका–१० मा रहेको चन्द्रगढी सेवा समाज र दे छ्योलिङ्ग गुम्बाको वार्षिक साधारणसभा सम्पन्न भएको छ। दुवै संस्थाले सभामार्फत वार्षिक गतिविधिको समीक्षा गर्दै आगामी योजना तथा कार्यक्रम अघि बढाउने प्रतिबद्धता जनाएका छन्।
चन्द्रगढी सेवा समाजको आठौँ वार्षिक साधारणसभा अध्यक्ष नयाँनाथ पाण्डेको अध्यक्षता तथा भद्रपुर नगरप्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।

सभामा अध्यक्ष पाण्डेले संस्थाको वार्षिक गतिविधि तथा सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए। प्रमुख अतिथि पोखरेलले समाजले सामाजिक कार्यका लागि तयार गर्ने योजनाका आधारमा नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाए।
कार्यक्रममा समाजको भवन निर्माणका लागि जग्गा प्रदान गर्ने जग्गादाता अमरबहादुर कार्की, भवन निर्माणमा आर्थिक सहयोग गर्ने सियाराम कुर्मी, आजीवन सदस्य पुरुषोत्तम अधिकारी र संस्थापक अध्यक्ष खिलनाथ पाण्डे निकासलाई सम्मान गरिएको थियो।
कार्यक्रममा भद्रपुर नगरपालिकाकी उपप्रमुख राधा कार्की, भद्रपुर चन्द्रगढी सामुदायिक वन समूहका अध्यक्ष अनुज खतिवडा तथा शिक्षासेवी गोविन्द लम्साललगायतले शुभकामना मन्तव्य राखेका थिए।
समाजका उपाध्यक्ष देवीमाया अधिकारीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव दीपबहादुर राउतले गरेका थिए।
दे छ्योलिङ्ग गुम्बाको १८औँ साधारणसभा
यसैबीच, भद्रपुर–१० शत्रबिघेस्थित दे छ्योलिङ्ग गुम्बाको १८औँ वार्षिक साधारणसभा सुखवति भुवन चन्द्रगढीमा सम्पन्न भएको छ।

गुम्बा व्यवस्थापन समितिका अध्यक्ष राकेश तामाङको अध्यक्षता तथा नेपाल तामाङ घेदुङ संघ कोशी प्रदेशका अध्यक्ष जगतबहादुर तामाङको प्रमुख आतिथ्यमा गुम्बा परिसरमा सभा सम्पन्न भएको हो।
सभामा अध्यक्ष राकेश तामाङले गुम्बा सञ्चालनसम्बन्धी वार्षिक गतिविधि तथा कार्ययोजना प्रस्तुत गर्दै संस्थाका कामलाई व्यवस्थित र पारदर्शी बनाउने विषयमा जानकारी गराएका थिए। सभाले वार्षिक नीति तथा कार्यक्रम सर्वसम्मत रूपमा अनुमोदन गरेको छ।
कार्यक्रममा गुम्बा व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष बसन्त तामाङ, आदिवासी जनजाति महासंघ भद्रपुरका अध्यक्ष शमशेर तामाङ, गुम्बाका लामा गुरु बुद्ध डुम्जन, नेपाल तामाङ घेदुङ संघ भद्रपुरका अध्यक्ष बमबहादुर तामाङ, कोशी प्रदेश उपाध्यक्ष रूपनारायण तामाङ तथा भद्रपुर–१० की वडा सदस्य संगीता ढकाललगायतले शुभकामना मन्तव्य राखेका थिए।
वक्ताहरूले तामाङ समुदायको संस्कार, संस्कृति र सभ्यता संरक्षण तथा प्रवर्द्धनमा गुम्बाको महत्वपूर्ण योगदान रहेको धारणा राखेका थिए। कार्यक्रमको सञ्चालन गुम्बाका सचिव गणेश तामाङले गरेका थिए।



