झापा, १५ कात्तिक । अर्नब चक्रवातको अवशेषका कारण पश्चिम नेपाल नजिक विकसित भएको न्यून चापीय क्षेत्रको प्रभाव कमजोर बनेसँगै देशभरको मौसम क्रमिक रूपमा सुधार हुँदै जाने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार माथिल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव भने कायमै छ। हाल लुम्बिनी प्रदेशसहित देशका हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी भूभागमा आंशिक बदली रहेको छ।

आज दिउँसो देशभर आंशिक बदली रहने पूर्वानुमान छ। देशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
त्यसैगरी, आज राति पनि देशभर आंशिक बदली रहनेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने सम्भावना छ।
तराईका भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको छ।
महाशाखाका अनुसार सोमबार बिहान र दिउँसो पनि देशभर आंशिक बदली रहनेछ। हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्नेछ। सोमबार राति गण्डकी प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।



