इटहरी, १५ कात्तिक । यहाँस्थित किसान कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो ३१औं स्थापना दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ ।
स्थापना दिवसका अवसरमा संस्थाले सहकारी, सञ्चार, कृषि, शिक्षा तथा सामाजिक क्षेत्रमा योगदान पुर्याउने व्यक्ति, सदस्य, कर्मचारी र संस्थाहरूलाई २३ विधामा नगद पुरस्कारसहित सम्मान तथा पुरस्कृत गरेको हो । कार्तिक १३ गते आयोजित समारोह संस्थाका अध्यक्ष शालिकराम ढकालको अध्यक्षता तथा नेपाल बचत तथा ऋण सहकारी संघ लिमिटेड (नेफ्स्कून) का अध्यक्ष चन्द्रप्रसाद ढकालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विभिन्न विधामा १०० जनाभन्दा बढी सदस्य, कर्मचारी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरू सम्मानित एवं पुरस्कृत भएका थिए ।

स्थापना दिवसकै अवसरमा कृषकले उत्पादन गरेका कृषि उपज तथा सामग्रीहरूको प्रदर्शनीसमेत आयोजना गरिएको थियो । प्रदर्शनी मार्फत स्थानीय उत्पादन, कृषकको सीप, श्रम र उद्यमशीलतालाई प्रोत्साहन गर्नुका साथै कृषि क्षेत्रका सम्भावना र उत्पादनको बजारीकरण बारे समेत जानकारी गराइएको थियो ।
कार्यक्रममा पूर्व क्षितिज प्रकाशन प्रालिद्वारा सञ्चालित ‘ब्लास्ट टाइम्स’ राष्ट्रिय दैनिकका सञ्चालक सुनील अधिकारीलाई युवा सञ्चार उद्यमीका रूपमा नगदसहित सम्मान गरिएको छ । लामो समयदेखि सञ्चार क्षेत्रमा क्रियाशील अधिकारीले मिडिया उद्यम मार्फत समाज, समुदाय र राष्ट्रप्रतिको दायित्व निर्वाह गर्दै आएको योगदानको कदरस्वरूप उनलाई सम्मान गरिएको हो ।
त्यसैगरी, रामधुनी नगरपालिका–६ का १३ आधारभूत विद्यालयलाई समेत उत्कृष्ट विद्यालयका रूपमा पुरस्कृत गरिएको छ । साथै, आर्थिक वर्ष २०८२र०८३ को कार्यसम्पादन मूल्याङ्कनका आधारमा उत्कृष्ट कर्मचारी पुरस्कारबाट रमेश खतिवडा, दीक्षा भट्टराई र कमला भण्डारी सम्मानित भएका छन् ।
सहकारी अभियानमा उल्लेखनीय योगदान पुर्याएबापत ताराबहादुर काफ्लेलाई ुसहकारी अभियन्ता सम्मानु प्रदान गरिंदा उत्कृष्ट सेवाकेन्द्रका रूपमा राजाबास सेवाकेन्द्र, उत्कृष्ट लघुवित्त केन्द्रका रूपमा मणिपुर केन्द्र र पञ्चायन केन्द्र ९जिम्मेवारी स् रमित कार्की० सम्मानित भएका छन् ।



