
झापा, ७ चैत । झापाको गौरादह नगरपालिकामा चट्याङका कारण गएराति घरमा आगलागी भएको छ ।
गौरादह नगरपालिका–६ धोपा टोलस्थित अजय कुमार झाको घरमा चट्याङ पर्दा शुक्रबार ११ः३० बजेतिर आगलागी भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । ५० वर्षीय झाको टिनको छानो र बाँसको टाँटीले बेरेको एकतले भान्साघर र त्यसैसँग जोडिएको गोठ (ग्वाली) मा आगलागी भएको छ ।
आगलागीबाट भान्साघर र गोठ पूर्ण रूपमा जलेर नष्ट भएका छन् । घरभित्र रहेका ग्यास सिलिन्डर, ८० केजी चामल, साइकल, विद्युत् मिटर, वाइफाइ राउटर, भाँडाकुँडा, अन्नपात र फर्निचर जलेका छन् । गोठमा रहेका ६ वटा बाख्रा (२ वटा माउ र ४ वटा पाठा) समेत जलेर मरेको प्रहरीले जनाएको छ ।
आगलागीबाट करिब २ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ भने मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।
घटनालगत्तै खटिएको गौरादह नगरपालिकाको दमकल, प्रहरी र स्थानीय बासिन्दाको सक्रियतामा राति १ बजेतिर आगो पूर्ण रूपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।


