
झापा, १० चैत । इलामको सूर्योदय नगरपालिका–११, तिघरेका १४ वर्षीय सौगात प्रधानले आफ्नो पहिलो सांगीतिक कोसेली “फर्केर आइदेउ” बोलको गीत सार्वजनिक गर्नुभएको छ । आफ्नै शब्द, संगीत र स्वरमा तयार गरिएको उक्त गीत फिक्कलको सिभान्स क्याफेमा सोमबार साँझ सांगीतिक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो ।
कार्यक्रममा गायक तथा संगीतकार भुपेन्द्र राईको अध्यक्षता रहेको थियो भने प्रमुख अतिथिका गायक तथा संगीतकार पुजन प्रधान रहनुभएको थियो । कार्यक्रममा सुर्योदय जेशिजका अध्यक्ष विवेश अधिकारी, गायक–संगीतकार रगुन गुरूङ, चन्दन किसोर शुब्बा, लेखु मुखिया, गायीका कृतिका राई, गायत्रा ओली घिमिरे, सन्तोष शिवा, आस्विन प्रधान, समाजसेवी निर्मला अग्रवाल कट्टेल लगायतका प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। अतिथिहरूलाई मायाको चिनो प्रदान गरिएको थियो ।
कार्यक्रमपछि उपस्थित कलाकारहरूले साङ्गीतिक प्रस्तुति दिएका थिए । गीतमा समकालीन युवाको भावना र रुचिलाई समेटिएको हुँदा यसले दर्शक–श्रोताको मन जित्ने विश्वास कार्यक्रमका वक्ताहरूले व्यक्त गरेका छन् ।
गीतमा सौगात प्रधानले शब्द, संगीत र स्वर दिएका छन् भने अभिनयमा सौगात स्वयं र रितिका राईको अभिनय रहेको छ। गीतको एरेन्ज झापा, विर्तामोडका जोनी योन्जनले गर्नुभएको हो। एचकेआर प्रेजेन्टको ब्यानरमा निर्माण गरिएको भिडियोको निर्देशन हिकस राईले गर्नुभएको छ । गीत सौगात युटुब च्यानलमा राखिएको छ ।
सानै उमेरदेखि संगीतप्रति सौगातको लगाव देखिएको र उहाँको उज्ज्वल भविष्यका लागि आफूहरूले निरन्तर सहयोग गर्ने उहाँका बुबा घनेन्द्र प्रधान र आमा सोनिया प्रधानले बताउनुभएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


