
मुम्बई, १९ चैत । बलिउडका स्टार सलमान खानको प्रतिक्षित फिल्म ‘मातृभूमि’ रिलिज हुनुपूर्व नै चर्चाको शिखरमा छ । फिल्मको रिलिज मिति सरेपछि निकै निराश बनेका फ्यानहरूका लागि अहिले खुसीको खबर आएको छ ।
यसअघि अप्रिल १० मा रिलिज हुने तय भएको ‘मातृभूमि’ प्राविधिक कारणले पछि सारिएको थियो, जसले सलमानका फ्यानहरूलाई खिन्न बनाएको थियो । त्यति मात्र होइन, फिल्मको नाम समेत परिवर्तन गरिएको छ ।
सुरुमा ‘ब्याटल अफ गलवान’ नाम राखिएको यो फिल्म अब ‘मातृभूमि’ को नामबाट हलमा आउने निश्चित भएको छ । बलिउड हंगामाको रिपोर्ट अनुसार यो फिल्म अब मे १५ मा सिनेमाघरहरूमा प्रदर्शन हुने तयारीमा छ ।
फिल्मको बाँकी रहेको सम्पूर्ण छायांकन पूरा भइसकेकाले निर्माण पक्ष अब यसलाई धेरै नपर्खिने मुडमा छ । यद्यपि निर्माण टोलीले नयाँ रिलिज मितिबारे आधिकारिक घोषणा गर्न भने बाँकी नै छ ।
अपूर्वा लाखियाको निर्देशनमा बनिरहेको यो फिल्ममा सलमान खानको जोडीका रूपमा अभिनेत्री चित्रांगदा सिंह देखिनेछिन् । फिल्मको फर्स्ट लुक्स यसअघि नै सार्वजनिक भइसकेको छ, जसलाई दर्शकले निकै रुचाएका छन् । एजेन्सी
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


