
मुम्बई, १० चैत । बलिउड अभिनेता रणवीर सिंह र निर्देशक आदित्य धरको जोडीले बक्स अफिसमा सुनामी ल्याएका छन्। एक्सन–थ्रिलर फिल्म ‘धुरन्धर २– द रिभेन्ज’ ले प्रदर्शनको सुरुवाती पाँच दिनमै भारतीय सिनेमाका सयौँ रेकर्डहरू ध्वस्त पारेको छ।
जासुसी कथामा आधारित यस फिल्ममा रणवीर सिंहले एक भारतीय जासुसको भूमिका निर्वाह गरेका छन्, जसले पाकिस्तानबाट भारतका लागि महत्त्वपूर्ण सूचनाहरू पठाउँछन्। फिल्मको यो सशक्त कथावस्तु र रणवीरको दमदार अभिनयले दर्शकलाई हलसम्म तान्न सफल भएको छ।
फिल्मले व्यापारको मामिलामा बलिउडका पछिल्ला ११३ वर्षका सबै कीर्तिमानलाई पछि पार्दै सबैभन्दा तीव्र गतिमा ५०० करोड क्लबमा प्रवेश गर्ने हिन्दी फिल्मको ट्याग भिरेको छ। प्रदर्शनको पहिलो दिनमै १०२ करोड रुपैयाँको विशाल ओपनिङ गरेको यस फिल्मले पेड प्रिभ्युबाट मात्रै ४३ करोड रुपैयाँ संकलन गरेको थियो।
दोस्रो दिन झन्डै ८० करोड, तेस्रो दिन ११३ करोड र चौथो दिन ११४।८५ करोड रुपैयाँको व्यापार गर्दै फिल्मले आफ्नो लयलाई आक्रामक बनाएको छ। सोमबार पाँचौँ दिनमा केही गिरावट देखिए पनि फिल्मले ६५ करोड रुपैयाँको बलियो कलेक्सन गर्दै भारतमा कुल ५०० करोडको नेट कलेक्सन पुरा गरेको छ।
विश्वव्यापी बजारमा पनि ‘धुरन्धर २’ को जादू उत्तिकै चलेको छ। भारत बाहेक अमेरिका, युके र अन्य देशहरूमा समेत फिल्मले उत्साहजनक व्यापार गरिरहेको छ। ट्रेड रिपोर्टका अनुसार पाँच दिनभित्रै फिल्मको वर्ल्डवाइड ग्रस कलेक्सन ७५० देखि ८०० करोड रुपैयाँको बिचमा पुगिसकेको छ। यो रणवीर सिंहको करियरकै सबैभन्दा ठुलो हिट फिल्म सावित भएको छ भने यसले आदित्य धरको अघिल्लो फिल्मको रेकर्डलाई समेत उछिनेको छ।
निर्देशक आदित्य धरको उत्कृष्ट निर्देशन रहेको यस फिल्ममा रणवीर सिंहका साथै सञ्जय दत्त, अर्जुन रामपाल, आर माधवन र राकेश बेदी जस्ता दिग्गज कलाकारहरूको प्रभावशाली अभिनय रहेको छ। यसअघि आएको ‘धुरन्धर’ को पहिलो भागले झन्डै १३०० करोडको व्यापार गरेको थियो भने ‘धुरन्धर २’ ले प्रदर्शनको पहिलो हप्तामै देखाएको यो रफ्तारले फिल्म सहजै १००० करोड क्लबमा सामेल हुने निश्चित देखिएको छ।
फिल्मका एक्सन दृश्यहरू कसरी छायांकन गरियो भन्ने चर्चाले पनि यतिबेला सामाजिक सञ्जालमा निकै स्थान पाइरहेको छ।एजेन्सी
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


