
झापा, १६ चैत । झापाको बिर्तामोडस्थित बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको २३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उत्कृष्टलाई सम्मानसँगै भावी योजनाहरु सार्वजनिक गर्दै आज संस्थाको साधारण सभा सम्पन्न भएको हो ।
संस्थाका अध्यक्ष मेघराज बाँस्तोलाको अध्यक्षता एवम् जिल्ला खानेपानी कार्यालय झापाका प्रमुख सुमन भट्टराईको प्रमुख आतिथ्य रहेको कार्यक्रममा उत्कृष्ट कर्मचारीका रुपमा संस्थाका कर्मचारी पदमबहादुर गुरुङ नगद १० हजार रुपैयाँसहित सम्मानित हुनुभएको छ भने संस्थाको जेष्ठ सदस्यका रुपमा डिल्लीराम बस्नेत र चन्द्रमाया बिक नगदसहित सम्मानित हुनुभएको छ ।
हाल संस्थामा तीन वटा ओभरहेड ट्याङ्की, १६ वटा डिप बोरिङ, १० वटा फिल्टर प्लाण्ट र ११ हजार उपभोक्ता रहेको संस्थाका अध्यक्ष वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्ने क्रममा जानकारी दिनुभयो । संस्थाको स्थापना कालदेखि हालसम्म पानी वितरण विभिन्न कठिनाई र चुनौती रहेको बताउनुभयो । उहाँले समस्या र चुनौतीलाई चिर्दै संस्था अघि बढेको उल्लेख गर्नुभयो । उहाँले संस्थागत १४ बुँदे कार्ययोजना, ६ बुँदे समस्या–चुनौती र २३ बुँदे भावी योजनासमेत प्रस्तुत गर्नुभयो ।
संस्थाका उपाध्यक्ष शैलेन्द्र सिटौंलालले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन सचिव पारसमणि मैनालीले गर्नुभएको थियो । कोषाध्यक्ष शारदा रिजालले कोषाध्यक्षको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने लेखा समिति संयोजक बिष्णुप्रसाद चुडालले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
संस्थाका निवर्तमान अध्यक्ष तथा मेची आँखा अस्पतालका अध्यक्ष जलकुमार गुरुङले कुनै पनि संस्थाको मेरुदण्ड भनेकै कर्मचारी भएको बताउनुभयो । आफु नेतृत्वमा हुँदा सन् २०१८ र सन् २०२२ मा बिर्तामोड खानेपानी संस्था उत्कृष्ट भएको र त्यो कर्मचारीकै कारण भएको उहाँको भनाइ थियो । कोभिड–१९ महामारीमा कर्मचारीले आफ्नो ज्यानको प्रर्वाह नगरी संस्थाप्रति जिम्मेवारी कर्तब्य पूरा गरेकै कारण पनि संस्था उत्कृष्ट भएको भन्दै उहाँले कर्मचारीको प्रशंसा गर्नुभयो ।
कार्यक्रममा प्रमुख अतिथि भट्टराई, संस्थाका सल्लाहकार लोकबन्धु कन्दङ्वा, राजकुमार पोखरेल, राष्ट्रिय स्वतन्त्र पार्टीका बिर्तामोड नगर सभापति दीपक दाहाल, नेपाल उद्यमशील महिला संघ झापा अध्यक्ष पार्वता खरेल बिमली लगायतले शुभकामना राख्नुभएको थियो ।
कार्यक्रममा संस्थाका सल्लाहकार बालकृष्ण गिरी, मदनगोपाल सुब्बा, बिर्तामोड उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष कुमार भट्टराई, नेपाल अलैंची व्यवसायी महासंघका निवर्तमान अध्यक्ष निर्मल भट्टराई, कमर्स अफ चेम्बरका केन्द्रीय सदस्य ओमकृष्ण बिमली लगायत विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, उपभोक्ताहरुको उल्लेखीय उपस्थिति रहेको संस्थाका कार्यालय प्रमुख खड्गराज गिरीले जानकारी दिनुभयो ।


