
झापा, २३ चैत । झापाको भद्रपुर नगरपालिका–४ स्थित डाँगीबारीबाट प्रहरीले ठूलो परिमाणमा लागुऔषध ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ ।
लागुऔषध नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय झापाले गत चैत १ गतेदेखि शुरु गरेको ‘अपरेशन ब्राउन’ अन्तरगत आइतबार दिउँसो भद्रपुर–४ डाँगीबारीबाट ब्राउनसुगर २१८ ग्राम ५० मिलिग्राम र विभिन्न मुलुकको मुद्रासहित दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।
पक्राउ पर्नेमा भद्रपुर–४ डाँगीबारीका बब्लु मर्डी र बिर्तामोड नगरपालिका–१ का अनमोल गजमेर रहेका छन् । ‘भद्रपुर–४ डॉगीबारीमा लागुऔषध ओसार पोसार तथा बिक्री वितरण भइरहेको छ’ भन्ने गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय भद्रपुरबाट प्रहरी निरीक्षक मोतिलाल योञ्जन तामाङको नेतृत्वमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
मर्डी बस्ने घरको कम्पाउण्डमा बिक्री–वितरण गर्न लुकाएर राखिएको अवस्थामा ब्राउनसुगर र उक्त लागुऔषध खरिद गर्न आएका गजमेर समेतलाई तत्काल नियन्त्रणमा लिई तत्काल खानतलासी गर्ने क्रममा लागुऔषध २१८ ग्राम ५० मिलिग्राम ब्राउनसुगर बरामद भएको हो ।
प्रहरीले उनीहरुको साथबाट रू तीन लाख दुई सय ५० सहित अमेरिकन डलर ७५, पाकिस्तानी नोट ५०, अस्ट्रेलिया पाँच, भारतीय नोट पाँच सय ३० र २ थान विभिन्न कम्पनीका मोबाइल समेत बरामद गरेको छ ।
पक्राउ परेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय झापाको न्यायिक हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रवक्ता खड्काले बताउनुभयो ।


