
सर्लाही, ३१ भदौ । सर्लाहीको कबिलासी नगरपालिका–७ सिर्सियामा दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।
मलङ्गवा–नवलपुर सडकखण्डमा मंगलबार साँझ मधेस प्रदेश ०३–०३३ प ७८२४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको भारतीय नम्बर प्लेटको बिआर ३० एपी १२२४ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए।
दुर्घटनामा ७८२४ नम्बरको मोटरसाइकल चालक गोडैता नगरपालिका–६ का ३० वर्षीय सुमित यादव र भारतीय मोटरसाइकल चालक कबिलासी नगरपालिका–८ का २६ वर्षीय पप्पु पासवानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
दुवै जनाको दुर्घटनापछि गम्भीर अवस्थामा प्रादेशिक अस्पताल मलङ्गवा लगिएको थियो। उपचारका क्रममा उनीहरूको मृत्यु भएको प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए।
दुर्घटनामा १२२४ नम्बरको मोटरसाइकलमा सवार कबिलासी–८ का ३३ वर्षीय सुरेन्द्र पासवान र मलङ्गवा नगरपालिका–६ का १८ वर्षीय बब्लुकुमार पासवान गम्भीर घाइते भएका छन्। उनीहरूको अनुहार, टाउको र खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ।
मलङ्गवामा प्राथमिक उपचारपछि थप उपचारका लागि दुवैलाई जनकपुर पठाइएको छ।
प्रहरीका अनुसार तीव्र गतिका कारण दुवै मोटरसाइकल ठोक्किएको प्रारम्भिक अनुमान छ। दुवै मोटरसाइकल नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


