
झापा, ३१ भदौ । देशभर मनसुनी वायुको प्रभाव कायमै रहेकाले आज अधिकांश भू–भागमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पूर्वी क्षेत्रमा सरदर स्थान आसपास तथा पश्चिमी क्षेत्रमा सरदर स्थानभन्दा दक्षिणतर्फ रहेको छ।
हाल कोशी, मधेस र बागमती प्रदेशमा सामान्य बदली रहेको छ भने अन्य पहाडी भू–भागमा आंशिक बदली रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा मधेस प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको छ।
आज देशभर सामान्यतया बदली रहनेछ। कोशी र बागमती प्रदेशका हिमाली भू–भागका केही स्थान तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको छ।
यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका केही स्थान तथा कर्णाली र सुदूरपश्चिमका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।
मधेस प्रदेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू–भागका केही स्थान तथा लुम्बिनी र सुदूरपश्चिमका तराई भू–भागका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।
महाशाखाका अनुसार कोशी प्रदेशको हिमाली, पहाडी तथा तराई भू–भागका साथै बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने सम्भावना रहेको छ।
भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा बाढी, पहिरो तथा डुबानको जोखिम हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।


