
तोमनाथ उप्रेती
मानव जीवन चेतना, विवेक र आत्मबोधको अनुपम उपहार हो । यही चेतनाले मानिसलाई अन्य प्राणीभन्दा विशिष्ट बनाएको छ । मानिससँग ज्ञान आर्जन गनेर् क्षमता छ, सत्य र असत्यबीच भेद गनेर् विवेक छ, आफ्ना कर्मको मूल्याङ्कन गनेर् आत्मचेतना छ र आफ्नो जीवनलाई नैतिक तथा मानवीय मूल्यअनुकूल सञ्चालन गनेर् सामथ्र्य पनि छ । तर, मानिसभित्रै केही यस्ता प्रवृत्तिहरू पनि विद्यमान हुन्छन्, जसले उसको चेतना, विवेक र मानवीय संवेदनालाई क्रमशः कमजोर बनाउँदै लैजान्छन् । तीमध्ये अहंकार सबैभन्दा सूक्ष्म, शक्तिशाली र विनाशकारी प्रवृत्तिमध्ये एक हो ।
अहंकारलाई सामान्य अर्थमा व्यक्तिको आफ्नै सामथ्र्य, ज्ञान, पद, सम्पत्ति वा उपलब्धिप्रति हुने अतिरञ्जित आत्मभावका रूपमा बुझ्न सकिन्छ । आत्मसम्मान र अहंकारबीचको भिन्नता यहीँ स्पष्ट हुन्छ । आत्मसम्मानले व्यक्तिलाई आफ्नो गरिमा र कर्तव्यप्रति सजग बनाउँछ भने अहंकारले उसलाई अरूभन्दा श्रेष्ठ देख्न प्रेरित गर्छ । स्वाभिमानले मानिसलाई उठ्न सिकाउँछ, तर अहंकारले अरूलाई होच्याएर आफू माथि देखिन खोज्छ । त्यसैले स्वाभिमान व्यक्तित्वको शक्ति हो भने अहंकार व्यक्तित्वको विकृति हो ।
अहंकारको मूल केन्द्र म र मेरो भन्ने संकीर्ण चेतना हो । जब मानिसले मैले मात्र गरेँ, मेरो विचार मात्र सही छ, म बिना केही सम्भव छैन भन्ने मानसिकता विकास गर्छ, तब उसभित्र अहंकारको बीउ अंकुराउन थाल्छ । व्यक्तिको सफलता, क्षमता वा योगदान वास्तविक हुन सक्छ, तर त्यसलाई सम्पूर्ण सत्य ठानेर अरूको योगदानलाई अस्वीकार गर्नु अहंकारको प्रारम्भ हो । वास्तवमा कुनै पनि उपलब्धि एक व्यक्तिको प्रयासको मात्र परिणाम हुँदैन । परिवार, समाज, शिक्षा, अवसर, समय, सहकर्मी र परिस्थितिको योगदानले नै व्यक्तिको सफलताको जग निर्माण गरेको हुन्छ ।
पूर्वीय दर्शनले मानव जीवनलाई परस्पर सम्बन्धित अस्तित्वका रूपमा हेर्छ । उपनिषद्को आत्मबोधको परम्पराले व्यक्तिलाई आफ्नो सीमित अहम्भन्दा माथि उठेर व्यापक चेतनासँग सम्बन्ध स्थापित गर्न प्रेरित गर्छ । जब मानिसले आफूलाई सम्पूर्ण ब्रह्माण्डको केन्द्र ठान्न छोड्छ, तब उसभित्र विनम्रताको जन्म हुन्छ । यही कारणले पूर्वीय मनीषीहरूले आत्मज्ञानलाई अहंकारमुक्तिको आधार मानेका छन् ।
भगवान् बुद्धको शिक्षामा लोभ, द्वेष र मोहलाई मानव दुःखका प्रमुख कारणका रूपमा व्याख्या गरिएको छ । मानिस आफ्नै इच्छा, आसक्ति र मिथ्या धारणाको बन्दी बन्दा उसको दृष्टि संकुचित हुन्छ । बुद्धको करुणा र मैत्रीको दर्शनले ‘म’ र ‘अरू’ बीचको कठोर विभाजनलाई कमजोर बनाउँछ । करुणा भएको हृदयमा अहंकार टिक्न कठिन हुन्छ, किनकि करुणाले अरूको पीडालाई पनि आफ्नो पीडा ठान्न सिकाउँछ । जहाँ आत्मकेन्द्रितता हुन्छ, त्यहाँ करुणा कमजोर हुन्छ; र जहाँ करुणा जागृत हुन्छ, त्यहाँ अहंकारको प्रभुत्व क्रमशः क्षीण हुँदै जान्छ ।
पूर्वीय दर्शनका अनेक मनीषीहरूले पनि अहंकारलाई आत्मविकासको सबैभन्दा ठूलो अवरोधका रूपमा चित्रण गरेका छन् । महात्मा गान्धीले विनम्रतालाई सत्यको खोजीका लागि आवश्यक नैतिक आधारका रूपमा जीवनमा व्यवहार गरे । उनका लागि शक्ति भनेको अरूमाथि शासन गनेर् क्षमता मात्र थिएन, बरु आफूभित्रका कमजोरीमाथि विजय प्राप्त गनेर् सामथ्र्य पनि थियो ।
त्यस्तै, स्वामी विवेकानन्दले मानिसभित्र रहेको असीम सम्भावनालाई जागृत गर्न आत्मविश्वास आवश्यक ठाने, तर आत्मविश्वासलाई अहंकारसँग कहिल्यै जोडेनन् । आत्मविश्वासले मानिसलाई आफ्नो कर्तव्यप्रति सक्षम बनाउँछ, तर अहंकारले उसलाई अरूप्रति असंवेदनशील बनाउँछ ।
अहंकारका रूपहरू अनेक हुन्छन् । धनमा गर्व, पदमा अभिमान, शक्तिमा घमण्ड, ज्ञानमा दम्भ, सुन्दरतामा अहम्, वंशमा अभिमान वा यशमा आत्ममुग्धता—यी सबै अहंकारका विभिन्न अभिव्यक्ति हुन् । बाहिरी रूप फरक भए पनि तिनको मूल भावना एउटै हुन्छ । यस्तो मानसिकताले मानिसलाई यथार्थबाट टाढा लैजान्छ । उसले आफ्नो कमजोरी देख्न छोड्छ, अरूको सुझावलाई अस्वीकार गर्छ र आलोचनालाई शत्रुताका रूपमा बुझ्न थाल्छ ।
यही अवस्थाबाट विवेकको क्षय सुरु हुन्छ । विवेक भनेको सही र गलत, उचित र अनुचित, न्याय र अन्यायबीच भेद गनेर् आन्तरिक क्षमता हो । तर, अहंकारले मानिसलाई आफ्नो निर्णयमाथि यति अन्धविश्वासी बनाउँछ कि उसले आफ्नो गल्ती स्वीकार गनेर् सामथ्र्य गुमाउन थाल्छ । गल्ती स्वीकार गर्न नसक्ने व्यक्ति सुधारको बाटोमा हिँड्न सक्दैन । आत्मसमीक्षा गर्न नसक्ने चेतना अन्ततः आत्मविनाशको दिशामा अग्रसर हुन्छ ।
मानव इतिहास र पौराणिक आख्यानहरूले पनि यही सत्यलाई विभिन्न रूपहरूमा प्रस्तुत गरेका छन् । रामायणमा रावण अत्यन्त विद्वान्, शक्तिशाली र तपस्वी पात्रका रूपमा चित्रित छन् । उनको ज्ञान, तपस्या र सामथ्र्य असाधारण थियो । तर, ज्ञान र शक्तिले मात्र मानिसलाई महान् बनाउँदैनन् । ती शक्तिहरूलाई संयमित गनेर् विनम्रता र विवेक आवश्यक हुन्छ । रावणको पतनको मूल कारण ज्ञानको अभाव थिएन, सामथ्र्यको कमी पनि थिएन; समस्या उनको अहंकारमा थियो । शक्तिले जब विवेकलाई नियन्त्रण गर्छ, तब विनाशको सम्भावना बढ्छ ।
महाभारतमा दुयोर्धनको चरित्रले पनि यही मानवीय कमजोरीलाई उजागर गर्छ । शक्ति, राज्य र प्रतिष्ठाको मोहसँगै विकसित भएको अहंकारले उसलाई सत्य र न्यायको मार्गबाट टाढा पु¥यायो । उचित सल्लाह स्वीकार गर्न नसक्नु, संवादको सम्भावना समाप्त गर्नु र आफ्नो इच्छालाई नै सवोर्च्च सत्य ठान्नु अन्ततः विनाशकारी सिद्ध भयो । दुयोर्धनको त्रासदी अहंकारले विवेकलाई कसरी पराजित गर्न सक्छ भन्ने नैतिक पाठ पनि हो ।
हिरण्यकश्यप र शिशुपालजस्ता पौराणिक पात्रहरूको कथामा पनि शक्ति र अहंकारको सम्बन्ध स्पष्ट रूपमा देख्न सकिन्छ । जब शक्ति संयम, न्याय र नैतिकताबाट विच्छिन्न हुन्छ, तब त्यो शक्ति समाजका लागि भयको कारण बन्न सक्छ । शक्ति स्वयम्मा न राम्रो हुन्छ न नराम्रो; त्यसको प्रयोग गनेर् चेतनाले त्यसको मूल्य निर्धारण गर्छ । विनम्र चेतनामा शक्ति सेवा बन्छ, तर अहंकारी चेतनामा शक्ति दमनको साधन बन्न सक्छ ।
अहंकारलाई अदृश्य आगोसँग तुलना गर्न सकिन्छ । बाहिरबाट हेर्दा व्यक्ति सफल, प्रभावशाली र शक्तिशाली देखिन सक्छ, तर भित्रभित्रै उसको संवेदनशीलता, आत्मबोध र नैतिक चेतना क्षय हुँदै जान सक्छ । अहंकारको आगोले सर्वप्रथम सम्बन्धलाई जलाउँछ । अहंकारी मानिस अरूको सम्मान गर्न कठिन मान्छ, सहकार्यलाई कमजोरी ठान्छ र आलोचनालाई अपमानका रूपमा बुझ्छ । परिणामतः ऊ क्रमशः एक्लिँदै जान्छ । मानिसको वरिपरि प्रशंसा गनेर्हरू त हुन सक्छन्, तर सत्य बोल्ने मानिसहरू टाढिँदै जान्छन् । यही अवस्था व्यक्तिको बौद्धिक र नैतिक पतनको प्रारम्भ हुन सक्छ ।
कन्फ्युसियसको नैतिक दर्शनले विनम्रता, अनुशासन र सम्बन्धको मर्यादालाई महत्व दिन्छ । उनका विचारमा नैतिक जीवन व्यवहारमा मानवीयता र उचित आचरणको अभ्यास हो । त्यसैले ज्ञानको वास्तविक मूल्य त्यसबेला मात्र हुन्छ, जब त्यसले मानिसलाई विनम्र, न्यायशील र उत्तरदायी बनाउँछ । ज्ञान बढ्दै जाँदा विनम्रता पनि बढ्नुपर्छ; यदि ज्ञानसँगै दम्भ बढ्छ भने त्यो ज्ञान पूर्ण अर्थमा प्रज्ञा बन्न सक्दैन ।
अहंकारको एउटा जटिल पक्ष के हो भने मानिसले धेरैपटक आफ्नो अहंकारलाई चिन्न सक्दैन । उसले आफ्नो हठलाई दृढता, आफ्नो क्रोधलाई स्वाभिमान, आफ्नो दम्भलाई आत्मविश्वास र आफ्नो स्वार्थलाई अधिकारका रूपमा व्याख्या गर्न सक्छ । यही आत्मभ्रम अहंकारलाई अझ शक्तिशाली बनाउने माध्यम हो । मानिसले आफ्नो व्यवहारको औचित्य प्रमाणित गर्न निरन्तर तर्क खोज्न थाल्छ । तर, आत्मसमीक्षाविहीन तर्कले सत्यको खोजी गदैर्न, उसले अहंकारको रक्षा मात्र गर्छ । त्यसैले अहंकारबाट मुक्त हुने पहिलो चरण आत्मनिरीक्षण हो । मानिसले समयसमयमा के म अरूको कुरा सुन्न सक्छु ? के म आफ्नो गल्ती स्वीकार गर्न सक्छु ? के म आलोचनाबाट सिक्न तयार छु ? के म आफ्ना उपलब्धिलाई केवल आफ्नो प्रयासको परिणाम ठान्छु ? आफैंसँग प्रश्न गर्नुपर्छ । यस्ता प्रश्नहरूले व्यक्तिलाई आफ्नो भित्री संसारसँग संवाद गर्न प्रेरित गर्छन् ।
आत्मबोध अहंकारको सबैभन्दा प्रभावकारी औषधि हो । जब व्यक्तिले आफ्नो कमजोरी, सीमितता र मानवीय अपूर्णतालाई स्वीकार गर्छ, तब ऊ विनम्र बन्न थाल्छ । चरित्रकेन्द्रित अहंकार भएको व्यक्तिले आफ्नो कमजोरीप्रति इमानदार आत्मबोध गर्न सकेमा सुधारको सम्भावना खुल्छ । धन र भोगकेन्द्रित अहंकारमा फसेको मानिसले आफ्नो अतृप्त लालसालाई चिन्न सकेमा संयम र उदारताको अभ्यास गर्न सक्छ । शक्ति र पदको अहंकारमा डुबेको व्यक्तिले आफ्ना निर्णयले अरूलाई कति प्रभाव पारिरहेको छ भन्ने अनुभूति गर्न सकेमा उत्तरदायित्वको भावना जागृत हुन्छ ।
त्यसैगरी बुद्धि र विचारको अहंकार पनि अत्यन्त सूक्ष्म हुन्छ । आफू मात्र बुद्धिमान्, आफ्नो विचार मात्र वैज्ञानिक वा सही र अरूको दृष्टिकोण निरर्थक ठान्ने प्रवृत्तिले संवादको ढोका बन्द गर्छ । ज्ञानको साँचो विशेषता सबै उत्तर जान्नु होइन; आफूलाई सबै कुरा थाहा छैन भन्ने स्वीकार गर्न सक्नु पनि ज्ञानकै उच्च अवस्था हो । यही विनम्र बौद्धिकता लोकतान्त्रिक र सभ्य समाजको आधार हो ।
सार्वजनिक जीवनमा अहंकार झन् बढी जोखिमपूर्ण हुन सक्छ । पद र शक्तिमा रहेका व्यक्तिहरूको एउटा निर्णयले धेरै मानिसको जीवनलाई प्रभावित गर्न सक्छ । त्यसैले सार्वजनिक पदलाई व्यक्तिगत प्रतिष्ठाको माध्यमभन्दा बढी जनविश्वास र उत्तरदायित्वको दायित्वका रूपमा बुझ्न आवश्यक छ । प्रशंसा र चाकरीले मानिसलाई यथार्थबाट टाढा लैजान सक्छ । आलोचना सुन्न नसक्ने नेतृत्व अन्ततः गलत निर्णयको जोखिममा पर्न सक्छ । लोकतान्त्रिक संस्कृतिमा असहमति शत्रुता होइन; सुधारको अवसर हो ।
अहंकारलाई निष्क्रिय पार्न प्रेम, मैत्री र करुणाको अभ्यास आवश्यक छ । मैत्रीले मानिसलाई अरूको सुखमा प्रसन्न हुन सिकाउँछ । करुणाले अरूको दुःखप्रति संवेदनशील बनाउँछ । क्षमाले प्रतिशोधको चक्र तोड्छ । सहिष्णुताले फरक विचारलाई सम्मान गर्न सिकाउँछ । यी गुणहरू पारिवारिक, सामाजिक र सार्वजनिक जीवनलाई सभ्य बनाउने आधार पनि हुन् ।
मानिसलाई झुक्न जान्नु कमजोरी होइन । आवश्यक स्थानमा झुक्न सक्ने मानिस वास्तवमा भित्रबाट बलियो हुन्छ । क्षमा गर्न सक्ने व्यक्ति कमजोर हुँदैन । ऊ आफ्नो क्रोधमाथि नियन्त्रण गर्न सक्ने व्यक्ति हुन्छ । आफ्नो गल्ती स्वीकार गर्न सक्ने मानिसको गरिमा घट्दैन बरु उसको नैतिक उचाइ बढ्छ । विनम्रता व्यक्तित्वलाई सानो बनाउने होइन, उसको चेतनालाई विशाल बनाउने गुण हो ।
जीवनमा काम, क्रोध, लोभ, मोह र अहंकारजस्ता प्रवृत्तिहरू मानवीय स्वभावसँग जोडिएका छन् । यिनको अस्तित्व मात्र विकार होइन; तर यिनले विवेकमाथि नियन्त्रण गर्न थालेपछि समस्या उत्पन्न हुन्छ । इच्छा आवश्यकतामा सीमित रहँदा जीवनलाई गतिशील बनाउँछ, तर अतृप्त लोभ बनेपछि दुःखको कारण हुन्छ । प्रेम मानवीय सम्बन्धको आधार हो, तर अन्धमोह बनेपछि व्यक्तिलाई कमजोर बनाउन सक्छ । त्यस्तै आत्मविश्वास आवश्यक छ, तर सीमा नाघेर अहंकार बनेपछि विनाशकारी हुन सक्छ ।
मानव जीवनको वास्तविक उन्नति अरूमाथि विजय प्राप्त गर्नुमा होइन, आफ्नै अहंकारमाथि विजय प्राप्त गर्नुमा छ । आत्मचिन्तन, विनम्रता, करुणा, सहिष्णुता, क्षमाशीलता र उत्तरदायित्वको अभ्यासमार्फत मानिसले आफ्नो चेतनालाई परिष्कृत गर्न सक्छ । त्यसैले जीवनको सबैभन्दा ठूलो विजय बाह्य संसारमाथिको विजय होइन,आफ्नै अहंकारमाथिको विजय हो । विनम्रतामा मानिसको वास्तविक महानता छ, करुणामा उसको वास्तविक शक्ति छ र विवेकमा उसको वास्तविक प्रकाश छ। जहाँ अहंकार समाप्त हुन्छ, त्यहाँ आत्मबोधको सुरुआत हुन्छ । जहाँ विवेक जागृत हुन्छ, त्यहाँ विनाशको होइन, निर्माण र मानवताको यात्रा प्रारम्भ हुन्छ । (उप्रेती नेपाल सरकारका उपसचिव हुन्।)


