
झापा, २३ चैत । झापाको दमक नगरपालिका–३ स्थित हम्से दुम्से सामुदायिक वनमा एक पुरुष मृत फेला परेका छन् ।
दमक–३ बेलडाँगी शिविर सेक्टर नं. सी २ हट नं. २०४ का ५४ वर्षीय तुलबहादुर बिष्ट मृत फेला परेका हुन् । गत बिहीबार घर नजिकै रहेको हुम्से दुम्से सामुदायिक वनमा बाख्रालाई घाँस काट्न भनेर विष्ट घरबाट हिँडेका थिए । हालसम्म घर फर्किएर नआएकाले आज बिहान आफन्त छरछिमेकीले खोजतलाश गर्ने क्रममा सामुदायिक वनमा उनलाई मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीले शव पोष्टमार्टमको लागि दमक अस्पताल दमक पठाएको छ भने घटनास्थलको प्रकृतिबाट जंगली हात्तीले आक्रमण गरी मारेको जस्तो आशंका रहेको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा विस्तृत अनुसन्धान भइरहेको जनाइएको छ ।
Facebook Comments Box


