
झापा, २४ चैत । झापाको दमकमा जङ्गली हात्तीको आक्रमणबाट एकजना भुटानी शरणार्थीको मृत्यु भएको छ ।
जङ्गली हात्तीको आक्रमणबाट दमक नगरपालिका ३ बेलडाँगी शिविर सेक्टर न(सी २ हट न.२०४ बस्ने बर्ष ५४ का तुलबहादुर बिष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीका अनुसार चैत १९ गते नजिकै रहेको हम्से दुम्से सामुदायिक वनमा बाख्रालाई घाँस काट्न भनी घरबाट हिँडेका विष्ट घर फर्केर नआएपछि आफन्त र छरछिमेकीले खोजतलास गर्ने क्रममा आज बिहान हम्से दुम्से सामुदायिक वनमा उनी मृत फेला परेका थिए । घटनास्थलमा हात्तीको पाइलाको छाप देखिएकोले हात्तीकै आक्रमणबाट विष्टको मृत्यु भएको हुनसक्ने प्रहरीको भनाइ छ ।
हम्से दुम्से वनमा दारा भएको र नभएको दुईवटा हात्ती रहेका छन् । इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी नायव उपरीक्षक किशोर लम्सालको कमाण्डमा अनुसन्धान टोली खटिएर आवश्यक कानूनी प्रक्रिया पूरा गरिएको बताइएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


