
सन्तोष शर्मा
कनकाई, ७ बैशाख । झापाको कनकाई नगरपालिकामा क्यान्सर रोगीको संख्या बढ्दै गएको छ ।
गत आर्थिक वर्ष २०८१÷८२ मा क्यान्सर नगरमा क्यान्सर रोगीको संख्या १ सय ११ रहेको थियो । चालू आर्थिक वर्ष २०८२÷०८३ को नौ महिनाको अवधिसम्म आइपुग्दा उक्त संख्या वृद्धि भई १ सय १६ पुगेको नगरपालिकाका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक नारायण अधिकारीले जानकारी दिनुभयो ।
कनकाईमा चालू आव २०८२÷०८३ को हालसम्मको अवधिमा क्यान्सर, मृगौला डायलाइसिस÷ ट्रान्सप्लान्ट, मेरुदण्ड पक्षघात र क्यान्सरका बिरामीको संख्या १ सय ४६ जना रहेको छ । जसमध्ये सबैभन्दा धेरै क्यान्सरको १ सय १६ जना, मृगौला डायलाइसिस÷ ट्रान्सप्लान्टका २५ जना र मेरुदण्ड पक्षघातका बिरामीको संख्या ५ जना रहेको छ । गत आव २०८१÷८२ मा मृगौला डायलाइसिस÷ ट्रान्सप्लान्ट, मेरुदण्ड पक्षघात र क्यान्सरका बिरामी संख्या १ सय ३५ जना रहेको थियो । जसमध्ये क्यान्सरका १ सय ११, मृगौला डायलाइसिस÷ट्रान्सप्लान्टका १९ जना र मेरुदण्ड पक्षघातका ५ बिरामी रहेका थिए ।
“समग्रमा कनकाईमा जटिल प्रकारका रोगीको संख्या बढ्दै गएको पाइएको छ”, जनस्वास्थ्य निरीक्षक अधिकारीले भन्नुभयो, “नगरमा यी रोगबाट मृत्यु हुने भन्दा पनि संक्रमण हुने दर धेरै देखिएको छ ।”
रोकथाम प्रयास
संघीय सरकार र प्रदेश सरकारले चलाएको एचपीभी खोप, नसनेर् रोग परीक्षण लगायतका अभियानसँगै नगरपालिकाले हालै महिलाहरुमा हुने पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ शिविर सञ्चालन गरेको छ ।
कनकाईका ४ वटा वडाहरु १, ५, ६ र ८ मा पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ शिविर सञ्चालन गरिएको जनस्वास्थ्य निरीक्षक अधिकारीले बताउनुभयो । उक्त शिविरमा १ सय ५७ जनाले सेवा लिएका थिए भने ६ जना क्यान्सरको आशंका गरिएकाले थप परीक्षणका लागि पठाइएको छ ।


