
झापा, ७ बैशाख । झापाका दुई भिन्न स्थानमा दुर्घटना हुँदा आज दुई जना घाइते भएका छन् ।
झापाको बिर्तामोड नगरपालिका र कमल गाउँपालिकामा दुर्घटना हुँदा एक÷एक जना घाइते भएका हुन् । आज बिहान बिर्तामोड नगरपालिका–३ लिटिल फ्लावर स्कुल छेउको भित्री सडकमा बिर्तामोडबाट गरामनीतर्फ जाँदै गरेको बा ५२ प ३०५५ नम्बरको मोटरसाइकलले विपरीत दिशाबाट आएको साईकल यात्री सोही स्थानका ३६ वर्षीय कुमार बिकलाई ठक्कर दिँदा उनको घाँटीमा चोट लागी घाइते भएका छन् ।
उनलाई उपचारका लागि बिर्तासिटी अस्पताल पठाइएको छ । अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। दुर्घटनापछि मोटरसाइकल नियन्त्रणमा लिइएको छ भने चालक अर्जुनधारा नगरपालिका–३ बस्ने ५१ वर्षीय किशोर ढकाललाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा राखेको छ ।
त्यस्तै, झापाको कमल गाउँपालिका–५ रबि पेट्रोल पम्प नजिक पूर्व–पश्चिम राजमार्गमा दमकबाट पाडाजुगीतर्फ जाँदै गरेको को ३८ प १५३१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आएको प्र.न.१–२–०४१ प २२८२ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जना घाइते भएका छन् ।
दुर्घटनामा १५३१ नम्बरको मोटरसाइकल चालक गौरादह नगरपालिका–१ का ३९ वर्षीय जीवन पुरी घाइते भएका छन् । उनको दुबै हातखुट्टा, बायाँ हात र औंलामा चोट लागेको छ । अवस्था मध्यम भए पनि बोल्न सक्ने अवस्थामा रहेको र उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ । सोही मोटरसाइकलमा पछाडि सवार गौरादह नगरपालिका–९ बस्ने ३७ वर्षीय डमन सापकोटा भने सुरक्षित रहेका छन् ।
दुर्घटनापछि २२८२ नम्बरको मोटरसाइकल चालक फरार रहेको र उनको खोजतलास भइरहेको प्रहरीले जनाएको छ । दुबै सवारी साधन इलाका प्रहरी कार्यालय दमकको नियन्त्रणमा राखिएको छ । प्रहरीले दुवै घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।



