
भद्रपुर, १० बैशाख । झापाको भद्रपुर नगरपालिका–९ पोकापाडास्थित बालज्योति प्रतिष्ठान इङ्गलिस स्कूलले आज संस्थापक सदस्य सम्मान र उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई पुरस्कृत गरेको छ ।
स्कूलले आज ‘अभिभावक भेला, पुरस्कार तथा सम्मान, वार्षिक एवम् दीर्घकालीन योजना प्रस्तुत’ कार्यक्रममा उनीहरुलाई सम्मान एवम् पुरस्कृत गरेको हो ।
स्कूलका व्यवस्थापन समिति अध्यक्ष सत्यनारायण तायलको अध्यक्षता एवम् भद्रपुर–९ का वडाध्यक्ष रामप्रसाद दाहालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा स्कूलका संस्थापक शेयर सदस्य बद्रीप्रसाद उप्रेती, चुडामणि मैनाली, धनपति उप्रेती, विष्णुप्रसाद शिवाकोटी र रंगवीर राईलाई सम्मान गरेको हो । त्यस्तै, स्कूलले उत्कृष्ट अंक ल्याउने आठ जना विद्यार्थी पुरस्कृत समेत गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष रामप्रसाद दाहाल, स्कूलका व्यवस्थापन समिति अध्यक्ष सत्यनारायण तायल, वडा सदस्य मञ्जु खड्का, शर्मिला पाँचकोटी, मञ्जु दाहाल, प्रकाश राजवंशी लगायतले सम्मानित व्यक्तित्वहरुलाई खादा–मालासहित सम्मान–पत्र प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा वडाध्यक्ष दाहाल, चन्द्रगढी दोस्रो खानेपानीका अध्यक्ष जगत तिवारी, सम्मानित व्यक्तित्व विष्णुप्रसाद शिवाकोटीले शुभकामना मन्तव्य राख्नुहुँदै स्कूलको उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको थियो ।
कार्यक्रममा स्कूलका सञ्चालक सदस्य सरोज भट्टराईले स्वागत मन्तव्य राख्नुहुँदै स्कूलले विद्यार्थीलाई अब्बल र सबल बनाउन कुनै कसर बाँकी नराख्ने बताउनुभयो । अभिभावकहरुलाई स्कूलको सकारात्मक कुराको प्रचार गरिदिन आग्रह गर्नुहुँदै कमी कमजोरी औंल्याएर सुधार गर्ने अवसर दिन अनुरोध समेत गर्नुभयो ।
स्कूलका प्रिन्सिपल एवम् कार्यकारी निर्देशक लवकुश गौतमले सञ्चालन गर्नुभएको कार्यक्रममा स्कूलकी विद्यालय व्यवस्थापन समिति सदस्य सदस्य पवित्रा ओलीले देशभक्ति पूर्ण गीत प्रस्तुत गर्नुभएको थियो ।
२०५७ सालमा स्थापना भएको बालज्योति प्रतिष्ठान इङ्गलिस स्कूल आव २०८२–०८३ देखि नयाँ व्यवस्थापनसहित सञ्चालन भइरहेको छ । स्कूलमा प्ले ग्रुपदेखि कक्षा–५ सम्म पठनपाठन भइरहेको छ भने नौ जना शिक्षक–कर्मचारीले गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको स्कूलका कार्यकारी निर्देशक लवकुश गौतमले जानकारी दिनुभयो ।
कार्यक्रममा विभिन्न संघसंस्थाका प्रमुख एवम् प्रतिनिधि, अभिभावक, शिक्षक, एवम् विद्यार्थीहरूको उत्साहजनक उपस्थिति रहेको थियो ।



