
झापा, ११ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डे पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले शुक्रबार पाण्डेलाई पक्राउ गरेको हो । ब्युरोको प्रमुख मनोज केसीले अनुसन्धानका लागि पाण्डेलाई कार्यालयमा ल्याइएको बताएका छन् । पूर्वमन्त्री समेत रहेका उनी निर्माण व्यवसायी हुन् । उनी २०७९ सालको निर्वाचनमा चितवन–३ बाट प्रतिनिधि सभाको सदस्य निर्वाचित भएका थिए ।
सार्वजनिक खरिद प्रणाली ह्याक गरेर ठेक्का विवरण हेरफेर गरेको प्रकरणमा अनुसन्धानका लागि पाण्डेलाई प्रहरीले पक्राउ गरेको जनाइएको छ । पूर्व वनमन्त्री समेत रहेका पाण्डेविरूद्ध २०७५ सालमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता भएको थियो । सिक्टा सिञ्चाइ आयोजनामा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचार मुद्दामा पाण्डे चार करोड धरौटी बुझाएर रिहा भएका थिए ।
पाण्डेको नेतृत्वमा रहेको कालिका कन्स्ट्रक्सनले लिएको ठेक्का देशभर बद्नाम भएको थियो भने अर्बौंको भ्रष्टाचार मुद्दामा तानिएका थिए । उनी कालिका ग्रुपका अध्यक्ष एवम् प्रबन्ध निर्देशक हुन् ।



