भद्रपुर, १२ कात्तिक । झापाको सदरमुकाम भद्रपुरमा भोलि (शुक्रबार) देखि प्रथम अन्तर्राष्ट्रिय फाइभ एस हक्की प्रतियोगिता २०८३ सुरु हुने भएको छ ।
भद्रपुर नगरपालिका–९ पुहाँतुबारीस्थित पुहाँतु जनज्योति माध्यमिक विद्यालयको खेल मैदानमा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आयोजक भद्रपुर नगर हक्की संघका अध्यक्ष सरोजकुमार बस्नेतले प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिनुभयो ।

नेपालमा ओझेलमा परेको हक्की खेलको प्रवद्र्धन तथा विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको उहाँले बताउनुभयो । हक्की खेल सिकाउने एकाडेमी स्थापना गर्ने लक्ष्यका साथ संघ अघि बढिरहेको उहाँले बताउनुभयो । हक्की खेल मैदान निर्माणका लागि कोशी प्रदेश सरकारले २० लाख रुपैयाँ दिने भएको बताउनुहुँदै उहाँले बहुबर्षे योजना समेत माग गरिएको उल्लेख गर्नुभयो ।
पत्रकार सम्मेलनमा भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेलले समग्र विकास नै विकास हो भन्ने मूल मर्मलाई आत्मसात गर्दै भद्रपुर नगरपालिका अघि बढेको बताउनुभयो । उहाँले खेलकुद क्षेत्रको विकास अपरिहार्य रहेकाले प्रतियोगितालाई सफल बनाउन नगरपालिकाले सक्दो सहयोग गर्ने बताउनुभयो ।
पत्रकार सम्मेलनमा मुख्य प्रायोजक चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूहका उपाध्यक्ष श्रीमन नारायण पौडेलले यस क्षेत्रमा पहिलो पटक अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता हुनु गौरवको विषय भएको बताउनुभयो । उहाँले प्रतियोगिताको निरन्तरताको कामना गर्दै आगामी दिनमा समेत सहयोग गर्ने धारणा राख्नुभयो ।
दोस्रो पुरस्कार सौजन्यकर्ता झापा उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष तथा युवा उद्यमी राजकुमार राईले मन्तव्य राख्नुहुँदै असल र सक्षम युवा निर्माणमा खेलकुदको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । खेलकुदको प्रवद्र्धनमा व्यक्तिगत र संस्थागत दुवै तर्फबाट आफूले सक्दो सहयोग गर्दै आएको उहाँको भनाइ छ ।
कात्तिक १३ गते शुक्रबारदेखि १५ गते आइतबारसम्म सञ्चालन हुने प्रतियोगितामा भारतका तीन, विभागीय तीन, कोशी, गण्डकी र कर्णाली प्रदेशका एक–एक तथा आयोजकको एक गरी १० टोली सहभागी हुने संघका उपाध्यक्ष पदम निरौलाले बताउनुभयो । बंगलादेशको टोलीलाई समेत सहभागी गराउने प्रयास गरिए पनि प्राविधिक कारणले सम्भव नभएको उहाँको भनाइ छ ।
प्रतियोगिताका लागि खेलमैदान मर्मतसम्भार, प्राविधिक व्यवस्थापन तथा अन्य आवश्यक तयारी पूरा भइसकेको छ । दर्शकको सुविधाका लागि बाँसको प्यारापिट निर्माण गर्नुका साथै विभिन्न स्थानमा स्वागतद्वार र ब्यानर राखिएका छन् ।
पत्रकार सम्मेलनमा स्वागत मन्तव्य राख्नुहुँदै संघका सल्लाहकार संयोजक अनिल ढुंगानाले प्रतियोगिता हुने खेल मैदानमा २० वर्षदेखि हक्कीको प्रशिक्षण भइरहेको बताउनुभयो । यस क्षेत्रबाट १० जना खेलाडी राष्ट्रिय टिममा सहभागी भएको बताउनुहुँदै उहाँले हाल दैनिक ४५÷५० जनाले प्रशिक्षण लिइरहेको बताउनुभयो । हक्कीका राष्ट्रिय खेलाडी दीपक खतिवडाले स्वयम्सेवकका रुपमा खेलाडीहरुलाई प्रशिक्षण दिँदै आउनुभएको सल्लाहकार संयोजक ढुंगानाले बताउनुभयो ।
विजेतालाई दुई लाख, उपविजेतालाई एक लाख
चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूह मुख्य प्रायोजक रहेको प्रतियोगिताको विजेताले दुई लाख रुपैयाँ नगदसहित ट्रफी तथा मेडल प्राप्त गर्नेछन् भने उपविजेताले एक लाख रुपैयाँ नगदसहित ट्रफी तथा मेडल पाउनेछन् । तेस्रो पुरस्कार ५० हजार रुपैयाँ रहेको छ ।
पहिलो पुरस्कार ओमसाइ पाथिभरा हस्पिटलका अध्यक्ष दीपक पोखरेलले, दोस्रो पुरस्कार झापा उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष तथा युवा उद्यमी राजकुमार राईले र तेस्रो पुरस्कार खेलप्रेमी सागर मिश्रले सौजन्य गरेको आयोजकले जनाएको छ ।
प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई विभिन्न विधामा नगद पुरस्कार तथा ट्रफीसमेत प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्न करिब ३५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
राष्ट्रिय कलाकारको सांगीतिक प्रस्तुति
प्रतियोगितालाई खेलमा मात्र सीमित नराखी मनोरञ्जन र आन्तरिक पर्यटन प्रवद्र्धनसँग जोड्ने तयारी गरिएको छ । प्रतियोगिताको उद्घाटन समारोहमा राष्ट्रिय कलाकार डम्बर नेपालीले प्रस्तुति दिनेछन् । दोस्रो, दिन अशोक दर्जी र समापनका दिन श्रीकृष्ण लुइँटेल ‘बोकेदाह्री’ को सांगीतिक प्रस्तुति रहने संघका सचिव खगेन्द्र ढुंगानाले बताउनुभयो ।
कार्यक्रममा स्थानीय कलाकार तथा विद्यालयका विद्यार्थीले पनि प्रस्तुति दिनेछन् । उद्घाटन समारोहमा विभिन्न जातीय झाँकी प्रदर्शन गरिनेछ भने पर्यटन प्रवद्र्धनसम्बन्धी गतिविधिसमेत सञ्चालन गरिने आयोजकले जनाएको छ ।
सरकारी तथा निजी क्षेत्रको सहयोग
प्रतियोगितालाई भद्रपुर नगरपालिका, कोशी प्रदेश सरकार, कोशी प्रदेश खेलकुद विकास बोर्ड, झापा जिल्ला खेलकुद विकास समिति र पर्यटन कार्यालय लगायतका निकायले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
आयोजकका अनुसार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की तथा प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव विप्लव घोषलाई प्रतियोगिताबारे जानकारी गराइएको छ । सदस्य सचिव घोष र भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले प्रतियोगितास्थलको अवलोकन गरी सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
स्थानीय तथा जिल्लाबाहिरका उद्योग–प्रतिष्ठान, निजी शैक्षिक संस्था र स्वास्थ्य संस्थाले पनि प्रतियोगितालाई सहयोग गरेका छन् । अन्तर्राष्ट्रिय झापाली समाज, अन्तर्राष्ट्रिय झापाली समाज इजरायल च्याप्टर, अमेरिकामा रहेका हक्की प्रशिक्षक तथा झापामा हक्कीका प्रवद्र्धक ज्ञानेन्द्र खड्का र अस्ट्रेलियामा रहेका खेलप्रेमीबाट समेत आर्थिक सहयोग प्राप्त भएको संघले जनाएको छ ।
युवालाई लागुऔषध दुव्र्यसनबाट जोगाउने लक्ष्य
हक्की खेलको विकाससँगै युवालाई बढ्दो लागुऔषध दुव्र्यसनबाट जोगाएर खेलकुदमा आकर्षित गर्नु प्रतियोगिताको अर्को उद्देश्य रहेको आयोजकले जनाएको छ । नेपालमा पर्याप्त चर्चा र अवसर पाउन नसकेको हक्की खेललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउन प्रतियोगिताले महत्वपूर्ण योगदान पु¥याउने आयोजकको विश्वास छ । प्रतियोगिताले भद्रपुरको खेलकुद गतिविधि बढाउनुका साथै पर्यटन र स्थानीय आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।



