
झापा, १२ बैशाख । झापाको बिर्तामोड नगरपालिका–३ भाटभटेनीस्थित पूर्वपश्चिम राजमार्गमा बसले अटोलाई ठक्कर दिँदा सात जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
आज दिउँसो करिब ४ बजे बिर्तामोड–३ भाटभटेनी छेउमा विराटनगरदेखि बनियानीतर्फ आउँदै गरेको मे १ ख २६२६ नं.को यात्रुबाहक बसले सोही दिशातर्फ आउँदै गरेको प्र.१–०१–००२ ह.५१९८ नम्बरको अटोलाई ठक्कर दिएको थियो । बसको ठक्करबाट अटोमा सवार सात जना घाइते भएका हुन् ।
घाइते हुनेमा अटो चालक बनियानीका ३८ वर्षीय अस्मुदिन अन्सारीको टाउकोमा चोट लागेको छ । उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । त्यस्तै, अटोमा सवार बिर्तामोड–५ की २२ वर्षीया कल्पना चापागाईं, बिर्तामोड–२ की ३७ वर्षीया भावना अधिकारी, ४ वर्षीया साविया अधिकारी, ५० वर्षीया लक्ष्मी नेपाल, १२ वर्षीया सुगम नेपाल र बिर्तामोड–१ का ५३ वर्षीय गणेश श्रेष्ठ घाइते भएका छन् ।
अटो, बस र बस चालक शिवसताक्षी–११ का ३६ वर्षीय सुमन उप्रेतीलाई नियन्त्रणमा लिएर इलाकाा प्रहरी कार्यालय अनारमनीमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।



