
झापा, १३ बैशाख । झापा जिल्लामा शनिबार दुई फरक स्थानमा परालमा आगलागी हुँदा करिब ६२ हजार रुपैयाँ बराबरको क्षति भएको छ ।
गौरीगञ्ज गाउँपालिका–२ बाहुन टोलमा भीमप्रसाद कोइरालाले खेत सफा गर्न लगाएको आगो पुनः सल्किँदा डेढ बिघा परालको कुन्यु जलेर नष्ट भएको हो । आगो गौरादह नगरपालिका दमकल, प्रहरी तथा स्थानीयवासीको सहयोगमा १३ः४५ बजे नियन्त्रणमा लिइएको थियो । घटनामा मानविय वा चौपायाको क्षति नभएको तर करिब १२ हजार रुपैयाँ बराबरको पराल नष्ट भएको प्रहरीले जनाएको छ ।
त्यस्तै, कचनकवल गाउँपालिका–१, सोमबारेमा दुर्गेनन्द राजवंशीले खेतमा लगाएको आगो छेउको परालमा सल्किँदा चार बिघा पराल जलेर नष्ट भएको हो । स्थानीयवासी, सशस्त्र प्रहरी तथा भद्रपुर नगरपालिका दमकलको सहयोगमा आगो १४ः१५ बजे नियन्त्रणमा आएको थियो । यस घटनामा करिब ५० हजार रुपैयाँ बराबरको पराल नष्ट भएको छ ।



