
झापा, १८ वैशाख । नेकपा (एमाले) जिल्ला कमिटी झापाले देशका विभिन्न शहरी क्षेत्रमा सुकुम्बासी बस्ती हटाउने नाममा भइरहेको घर–टहरा भत्काउने कार्यप्रति गम्भीर आपत्ति जनाएको छ । पार्टीद्वारा आज जारी विज्ञप्तिमा समितिले संविधानले प्रत्याभूत गरेको आवासको हक विपरीत सरकारले अमानवीय कदम चालेको आरोप लगाएको छ ।
विज्ञप्तिमा उल्लेख गरिएअनुसार, संविधानको धारा ३७ ले प्रत्येक नागरिकलाई आवासको हक सुनिश्चित गरेको भए पनि पछिल्लो समय काठमाडौं उपत्यकासहित विभिन्न स्थानमा विकल्प बिना सुकुम्बासी बस्ती हटाउने कार्य गरिएको जनाइएको छ। यसलाई समितिले “डोजर आतंक” को संज्ञा दिँदै घोर भत्र्सना गरेको छ ।
समितिले सर्वोच्च अदालतले समेत ‘विकल्प बिना हटाउन नपाइने’ आदेश दिइसकेको अवस्थामा सरकार आफैं अदालतको आदेश उल्लंघन गर्दै बल प्रयोगमा उत्रिएको आरोप लगाएको छ। यस क्रममा बालबालिका, महिला, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरू प्रभावित भएको र केहीले आत्महत्या गरेको समाचार सार्वजनिक भइसकेको पनि उल्लेख गरिएको छ।
विज्ञप्तिमा ठूला व्यापारी र भू–माफियाले कब्जा गरेका सार्वजनिक जग्गाप्रति सरकार मौन रहेको तर गरिब नागरिकमाथि कडा कारबाही गरिएको भन्दै यस्तो व्यवहार विभेदकारी र अन्यायपूर्ण भएको दाबी गरिएको छ। वर्षात्को मुखमा घर भत्काउँदा सयौं परिवारको जीवन जोखिममा परेको, बालबालिकाको पढाइ प्रभावित भएको र दैनिक मजदुरी गर्नेहरूको जीविकोपार्जनमा असर परेको पनि बताइएको छ।
समितिले सुकुम्बासी बस्ती भत्काउने कार्य तत्काल रोक्न, प्रभावित परिवारलाई अस्थायी बास, खाद्यान्न र स्वास्थ्य उपचारको व्यवस्था गर्न माग गरेको छ। साथै राष्ट्रिय भूमि आयोगमार्फत वास्तविक सुकुम्बासीको पहिचान गरी उनीहरूलाई सुरक्षित आवासको व्यवस्था गर्नुपर्ने माग पनि गरिएको छ।
दीर्घकालीन रूपमा ‘एक परिवार, एक घर’ नीति ल्याई संघ, प्रदेश र स्थानीय तहको सहकार्यमा व्यवस्थित बस्ती विकास गर्नुपर्नेमा पनि जोड दिइएको छ। भत्काइएका घर–टहराको उचित क्षतिपूर्ति तथा मनोसामाजिक परामर्शको व्यवस्था गर्न पनि समितिले आग्रह गरेको छ।
समितिका अध्यक्ष प्रेम गिरीद्वारा हस्ताक्षरित विज्ञप्तिमा वर्तमान सरकार नागरिकको अभिभावक बन्नुपर्ने भए पनि गरिबप्रति कठोर बनेको आरोप लगाउँदै यस्ता कार्य तत्काल बन्द गर्न चेतावनी दिइएको छ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



