
झापा, १४ बैशाख । कोशी प्रदेशका आन्तरिक तथा बाह्य पर्यटकहरूको रोजाइमा परेका होमस्टेले पछिल्लो समय आफ्नो सेवा परिष्कृत गर्न थालेका छन् । पहिले पैदल यात्रा गरेर पुग्नुपर्ने ठाउँमा अहिले यातायातको सहज पहुँच पुगेपछि सहरी ढाँचामा होमस्टे विस्तार हुँदै गएको छ ।
परम्परागत काठका घरमा सञ्चालनमा आएका होमस्टेमा अब पक्की संरचना निर्माण भई वातानुकूलित कोठा, ऐटेच बाथरुम, इन्टरनेट सुविधा, आकर्षक सजावट तथा खानेकुराको स्तरमा सुधार हुँदै गएको छ । होमस्टे महासङ्घका केन्द्रिय उपाध्यक्ष एकराज घिमिरेका अनुसार पर्यटकको चाहना अनुसार समयसँगै होमस्टे सेवा परिवर्तन गरिएको हो ।
श्रीअन्तुमा सञ्चालित होमस्टेले महिलाको आयस्तरमा उल्लेख्य वृद्धि गरेको छ । सञ्चालक गडिया आलेका अनुसार होमस्टे सञ्चालनमा आएपछि बाटोघाटो, बिजुली, स्वास्थ्य सेवा जस्ता आधारभूत सुविधा विस्तार हुनुका साथै महिलाहरू आर्थिक रुपमा सक्षम बनेका छन् । श्रीअन्तुमा हाल ६०–६५ वटा होमस्टे सञ्चालनमा छन्, जहाँ आन्तरिक तथा बाह्य गरी करिब अढाई लाख पर्यटक वार्षिक रूपमा आउने गरेका छन् ।
सञ्चालक दुर्गा तामाङले आफ्नो होमस्टेमा नेपाल, भारत तथा साउदीबाट समेत पर्यटक आउने गरेको बताए । विगत आठ वर्षदेखि होमस्टे सञ्चालन गर्दै आएका उहाँले यसले आर्थिक अवस्था सुधार गरेको अनुभव सुनाउनुभयो । पर्यटक आकाश चौधरी र सुशिल सिंह क्षेत्रीले श्रीअन्तुका होमस्टेमा पाएको सेवा र व्यवहारप्रति सन्तुष्टि व्यक्त गरेका छन् ।
यद्यपि, आधुनिक संरचना निर्माणले होमस्टेको मौलिक संस्कृति, रहनसहन र प्राकृतिक सौन्दर्यमा असर पर्ने चिन्ता पनि व्यक्त गरिएको छ । त्यसैले होमस्टेको मौलिकता जोगाउन स्थानीय, प्रदेश तथा संघीय सरकारको ध्यान आवश्यक देखिन्छ ।



